‘सुरक्षित ठाउँ पहिचान गरेर पर्यटक बोलाऔं’
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी कोभिड—१९ पछि पर्यटन क्षेत्रको अनुसन्धान तथा पर्यटन सम्बद्ध अन्तर्राष्ट्रिय संस्थासँग समन्वयमा व्यस्त छन्। पछिल्लो समय जोशीले संयुुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) का पूर्व महासचिव डा. तालेव रिफाइको संरक्षकत्वमा घोषणा भएको ‘पर्यटन परियोजना’ मा नेपालबाट पर्यटन विज्ञका रुपमा आबद्ध भएर काम गरिरहेका छन्। कोभिड–१९ पछिको पर्यटनको अवस्था र यो क्षेत्रको पुनरुत्थानको सम्भावना लगायत विषयमा जोशीसँग हिमालखबरका राजु बास्कोटाले गरेको कुराकानीको सारसंक्षेपः
कोभिड–१९ महामारी शुरु भएपछि नेपालको पर्यटन क्षेत्रको अवस्था कस्तो छ?
कोभिड–१९ महामारीको असर अरुभन्दा पर्यटन क्षेत्रमा बढी छ। ठूलो लगानी र रोजगारी जोखिममा परेको छ। होटल, रेस्टुरेन्ट बन्द हुँदा र पर्यटक आगमन ठप्प भएका कारण पर्यटन क्षेत्रका करीब ११ लाख जनशक्ति प्रभावित छन्।
बन्दाबन्दीको चार महीनापछि सरकारले होटल–रेष्टुरेन्ट खुलाइसकेको छ र पर्यटनका अन्य क्षेत्र खुलाउने निर्णय पनि गरिसकेको छ। तर संक्रमण बढिरहँदा व्यवसायी नै अन्योलमा छन् नि !
करीब ४५ देशले अन्तर्राष्ट्रिय नाका तथा उडान खोलिसकेका छन्। धेरैजसो देशले आन्तरिक पर्यटक र अर्थतन्त्रका गतिविधिलाई खुलाएका छन्। दक्षिण एशियाकै कुरा गर्दा, माल्दिभ्सले दुई साताअघि अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ। श्रीलंकाले मध्य अगष्टबाट अन्तर्राष्ट्रिय नाका खोल्दैछ। नेपालमा पनि होटल क्षेत्र १५ साउनदेखि खुला भएको छ भने १ भदौदेखि हवाई उडान खुला गर्ने तयारी छ। श्रीलंका र भारतले यसअघि नै आन्तरिक गतिविधिलाई खुला गरिसकेका छन्। विश्वमा कोभिडको भ्याक्सिन नै आयो भने पनि यसको उपलब्धता र आपूर्तिका कारण यो नियन्त्रणमा आउन अझै लामो समय लाग्नेछ। त्यसैले आवश्यक सुरक्षा मापदण्ड अपनाएर विस्तारै आर्थिक गतिविधि बढाउनुको विकल्प छैन।
संक्रमण फैलिरहेकोले पर्यटन क्षेत्र खोल्ने कि नखोल्ने भन्ने विषयमा भइरहेको बहस र विवादलाई कसरी लिने ?
पर्यटन क्षेत्र अनुशासित क्षेत्रमध्येको एक हो। यसमा तालिम लिएका अनुभवी जनशक्ति छन्। त्यसैले यो क्षेत्र खोलिनुमा अचम्म मान्ने होइन, उत्साहित नै हुनुपर्ने हुन्छ।
तर उडान शुरु गर्ने अवस्था नहुँदासम्म पर्यटक आएर के गर्ने र कहाँ जाने भन्ने लगायत स्पष्टता आउनै सकेको छैन। कसरी बढ्ला पर्यटकीय गतिविधि ?
गन्तव्य मुलुकका हिसाबले नेपालमा हुने पर्यटकीय गतिविधिसँग तुलना गर्दा अन्य देशमा भन्दा हाम्रोमा कोरोनाभाइरसको चुनौती कम छ। तर, नियन्त्रण गर्ने तयारी हाम्रोमा कमजोर देखिन्छ। पर्यटक आउँदा कति छिटो सुरक्षित वातावरण दिने, कहाँ लैजाने र कुन क्षेत्रमा सुरक्षित महसुस हुन्छ भन्नेबारे व्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता छ। त्यसपछि हामीले गरेको तयारीबारे सार्वजनिक गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्टसँग सन्देश दिनुपर्छ। यसका लागि सरकार सक्रियताका साथ लाग्न सक्छ।
उडान खोल्नासाथ पर्यटक आउलान् त ?
हवाई उडान खोल्ने बित्तिकै पर्यटक आइहाल्छन् भन्ने होइन। त्यसमा पनि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा बढिरहेको छ। विश्व पर्यटन संगठनले संसारका धेरै देशमा पर्यटक पठाउन कुन कुन क्षेत्र सुरक्षित हुन् भन्ने पहिचान गरेर त्यसलाई मान्यता दिने गरी हेरिरहेको छ। हामीले पनि नेपालका सन्दर्भमा सुरक्षित ठाउँहरूको पहिचान गर्नुपर्छ।
बाहिरका पर्यटकीय संस्था नेपालमा पर्यटक पठाउन तयार छन् ?
छलफलका क्रममा ती निकाय नेपालमा पर्यटक पठाउन सकिन्छ भन्नेमा नै छन्। नेपालको बारेमा अहिलेसम्म कुनै नकारात्मक सन्देश प्रवाह नभएको र हाम्रो तयारीलाई थप बढाउँदै गर्दा पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने लाग्छ। केही होटलमा सानो संख्यामा भए पनि नयाँ बुकिङ आएको व्यवसायीको भनाइ छ। साथै, नेपाल आएका पर्यटकलाई नयाँ गन्तव्य पनि खोज्नुपर्नेछ। छिटै लामो दूरीका गन्तव्यमा जान सक्ने अवस्था देखिंदैन। त्यसैले अब क्षेत्रीय बजार खोज्नुपर्छ।
विदेशी टूर अपरेटर्सको प्रतिक्रिया के पाउनुभएको छ ?
विदेशका केही ठूला पर्यटन एजेन्सीहरुले पनि सानो समूहमा पर्यटकीय गतिविधि चलाउन सकिन्छ भन्ने नै बताइरहेका छन्। भीडभाडमा हुने गतिविधिलाई कम गर्ने र सकेसम्म सामाजिक दूरी कायम गरेर गर्न सकिने पदयात्रा तथा प्राकृतिक सुन्दरताको अवलोकनसहितका क्षेत्रमा पर्यटक पठाउनेसहितको प्रोटोकल पनि बनाइरहेको भन्ने कुरा आएको छ। थाइल्याण्ड, मलेशिया, सिंगापुर, मकाउसहितका देशहरू एकै पटक २ हजार, ३ हजार, पाँच हजारको समूहमा पर्यटक जाने गन्तव्य हुन्। नेपालमा भने ५०/६० जनाको समूहमा पर्यटक जाने गन्तव्य मात्रै छन्। नेपालमा राम्रो तयारी हुन सक्यो भने पर्यटक आउन इच्छुक छन्। अहिले पनि २० देखि २५ प्रतिशत बुकिङ अक्टोबर/नोभेम्बरको लागि रद्द भइनसकेको अवस्था छ। हामीले सुरक्षाका उपाय अपनाउन सक्यौं भने अन्य देशको तुलनामा छिटो रिकभर (पुनरुत्थान) गर्न सक्छौं।
सुरक्षात्मक उपायबाटै अबको पर्यटन चल्छ ?
पर्यटन क्षेत्र अनुशासित क्षेत्रमध्येको एक हो। यसमा तालिम लिएका अनुभवी जनशक्ति छन्। त्यसैले यो क्षेत्र खोलिनुमा अचम्म मान्ने होइन, उत्साहित नै हुनुपर्ने हुन्छ।
संसारभरि बढेको ट्रेन्डले सामाजिक दूरी, मास्क र स्यानिटाइजरको प्रयोगलाई पूर्णरूपमा अपनाउने तथा पर्यटकीय गतिविधि पनि बढाउँदै जान सकिने देखाउँछ। यसअघि सन् २००१ मा अमेरिकाको ट्वीनटावरमा आक्रमणपछि पनि संसारभर पर्यटकीय गतिविधि अगाडि बढाउन चुनौती देखिएको थियो। त्यतिवेला होटल, ठूला सपिङ मल, सम्पदा क्षेत्रमा प्रवेश गर्दा मेटल डिटेक्टर तथा इलेक्ट्रोनिक स्क्रिनिङको चलन शुरु भएको थियो। शुरूमा असहज भए पनि आज ती प्रविधि चलेका छन्। त्यसैले कोभिडपछि पनि सुरक्षा उपाय अपनाउँदै अगाडि बढ्नुपर्छ।
कतिपय देशले भीसा शुल्क घटाउने र कोरोना परीक्षणका लागि पर्यटकबाट शुल्क उठाउन सक्ने मोडालिटी तय गर्दैछन्। परीक्षणबाट पोजिटिभ देखिए उपचारका लागि आइसोलेसनमा पठाउने र नेगेटिभ देखिए घुम्न पाउने मोडल नै अबको उपयुक्त माध्यम हुन सक्छ।
प्रोत्साहनका प्याकेज दिएर पर्यटक आकर्षित गर्न सकिने अवस्था छ कि छैन?
समग्र पर्यटनमा आन्तरिक पर्यटन छिटो पुनरुत्थान हुने क्षेत्र हो। किनकि, आन्तरिक पर्यटकलाई कस्तो अवस्थामा कहाँ जाने भन्ने छिटै थाहा हुन्छ। बन्दाबन्दी खुलेको केही समय मात्र भए पनि आन्तरिक पर्यटकहरूले पोखरा, धुलिखेलसहितका क्षेत्रबारे चासो राख्न थालिसकेका छन्। आन्तरिक पर्यटकका गतिविधिलाई प्रवर्द्धन गर्ने गरी सहुलियत र प्याकेजका कार्यक्रम ल्याउने हो भने पर्यटन क्षेत्र छिटो अगाडि बढ्न सक्छ।
आर्थिक अवस्थाका कारण महँगो गन्तव्य पर्यटकको रोजाइमा नपर्न सक्छ। यसैले कुन मूल्यमा आधारित भएर पर्यटक नेपाल आउने भन्ने तय गर्नुपर्छ। नेपालको हिमाली क्षेत्र तथा प्राकृतिक गन्तव्यका पर्यटकीय गतिविधि एकान्तमा हुने र सुरक्षित पनि छन् भन्ने सन्देश दिन सक्नुपर्छ।
थाइल्याण्ड, मलेशिया, सिंगापुर, मकाउसहितका देशहरू एकै पटक २ हजार, ३ हजार, पाँच हजारको समूहमा पर्यटक जाने गन्तव्य हुन्। नेपालमा भने ५०/६० जनाको समूहमा पर्यटक जाने गन्तव्य मात्रै छन्। नेपालमा राम्रो तयारी हुन सक्यो भने पर्यटक आउन इच्छुक छन्।
विधागत पर्यटक आउने सम्भावना कस्तो छ ?
पर्यटकको विशेष रुचिपूर्ण क्षेत्र छिटै पुनरुत्थान हुन सक्छ। नेपालको सन्दर्भमा ट्रेकिङ, र्याफ्टिङ, माउन्टेन क्लाइम्बिङ, बर्ड वाचिङ लगायत प्रकृति सम्बन्धी गतिविधि पर्यटकका रुचिका क्षेत्र हुन्। त्यस्ता पर्यटकले आफूलाई रुचिकर हुने गतिविधि पर्खेर बसिरहेका हुन्छन्। त्यसैले पर्यटकीय गतिविधि खुल्नासाथै उनीहरू आउँछन्।
महामारीको जोखिम कायमै छ, यो स्थितिमा घुमघाम हुन्छ त ?
नेपालमा ट्रेकिङ, वाइल्ड लाइफसहित साहसिक पर्यटनमै पर्यटकको रुची बढी छ। अहिले हामीकहाँ २ हजार मिटरमाथिका उँचाइमा कोरोनाको प्रभाव निकै कम भएकाले ती क्षेत्रमा पदयात्रा गर्न सकिन्छ। गाउँका घरहरू पनि छुट्टाछुट्टै हुन्छन्। यसले गर्दा ती क्षेत्रमा पर्यटक पठाउँदा समस्या हुँदैन।
यो वेला राज्यले कस्तो खालको प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ ?
नयाँ खालको गतिविधि गर्न पर्यटकलाई प्रोत्साहन दिने खालको नीति ल्याउनुपर्छ। प्रकृतिमा आधारित तथा एकान्तमा रमाउने गरी १०/१२ लाख पर्यटक राख्न सकिने गतिविधि नेपालमा पर्याप्त छन्। यस अन्तर्गत योग, ध्यान, उच्च हिमाली क्षेत्रमा हुने गतिविधि आदिमा जोड दिन सकिन्छ।
अहिले केही विदेशी वायुसेवा नेपाल आउन इच्छुक भइसकेका छन्। थप वायुसेवा ल्याउन सहुलियत दिनुपर्छ। सरकारले साना जात्रा, मेला, महोत्सव प्रवर्द्धन गर्ने नाममा पोस्टर, होर्डिङ बोर्ड आदिमा गर्ने खर्चले पर्यटक आकर्षित हुँदैनन्। बरु पर्यटक ल्याउनेलाई नै प्रोत्साहनका प्याकेज दिने हो भने पर्यटन क्षेत्रको पुनरुत्थान छिटो हुन सक्छ।
पर्यटन बोर्डले चाहिं अब कसरी प्रवर्द्धन गर्न सक्छ ?
बोर्डले पर्यटक ल्याउनमै आफ्नो आय खर्च गर्नुपर्छ। तर, अबको डेढ–दुई वर्ष नयाँ गन्तव्यको प्रवर्द्धन गर्ने र पर्यटक आगमन बढाउन धेरै खर्च गर्न सक्ने अवस्था छैन।
पर्यटकीय गतिविधि ठप्प भएको समयलाई यस क्षेत्रमा दीर्घकालीन योजना बनाउने अवसर बनाउन सकिन्थ्यो, तर सरकार किन यसमा चुकिरहेको छ ?
संकट र अवसर सँगै आउँछ। अहिले वास्तवमै हामीले पर्यटन क्षेत्रका गतिविधिलाई समीक्षा गर्ने बेला हो। अब खाद्य पर्यटनलाई प्रवर्द्धन गर्ने र नेचरबेससहितका नयाँ क्षेत्रमा जोड दिएर दीर्घकालीन योजना नै बनाएर जान जरुरी छ। अहिले सरकार स्थिर भएको बेला भिजन बनाएर जानुपर्छ। अहिले महामारीपछि पर्यटक बढाउने योजना बनाउन जुट्नुपर्ने वेला हो। तर, सरकारले यसतर्फ ध्यान दिन सकेको छैन।
महामारीमा पर्यटक मजदूरको पक्षमा धेरै बहस भए पनि ठोस कार्यक्रम आउन सकेन। कमजोरी कहाँ देख्नुहुन्छ ?
विभिन्न निकायमा भएको कोषलाई मजदूरको हितमा प्रयोग गर्ने, उनीहरूलाई विकास–निर्माणका काममा लगाएर रोजगारीमा आधारित राहत दिने भन्ने कुरा चलिरहेको छ। तर, यो मोडल अझै उपयोग हुन सकेको छैन। सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत ल्याएको रु.५० अर्बको कोषलाई छिटो भन्दा छिटो परिचालन गरेर मजदूरलाई राहत दिनुपर्छ। सरकारी कोष, सामाजिक सुरक्षा कोष, दातृ निकायको कोष, निजी क्षेत्रका विभिन्न निकायमा भएको कोषलाई एउटा 'टास्क फोर्स' बनाएर कार्यान्वयन गर्नुपर्छ। पर्यटन व्यवसायी पनि समस्यामा छन्। उनीहरूलाई सम्बोधन गर्न पनि सरकारी कोष छिटो परिचालन गरिनुपर्छ।