कंगना रनौतले आयुष्मान खुरानालाई किन भनिन् 'चाप्लुस आउटसाइडर' ?
अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यासँगै बलिउडमा व्यापक भएको नेपोटिज्म (परिवारवाद) को बहस अझै थामिएको छैन। परिवारवाद र त्यसलाई सघाउनेहरु आलोचनाको निशानामा पर्ने क्रम जारी छ।
बलिउडमा पकड जमाएको भाइभतिजावाद र माफिया प्रवृत्तिको चिरफार गर्ने क्रममा खासगरी स्पष्टवक्ता र हक्की भनेर चिनिने अभिनेत्री कंगना रनौतले स्टारका छोराछोरी र अन्य कलाकारप्रति कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन्।
यसै क्रममा कंगनाले प्रतिभाशाली अभिनेता आयुष्मान खुरानालाई 'औसत दर्जाका कलाकार' भनेकी छिन्। यद्यपि उनले सोझै आयुष्मानको नाम लिएकी छैनन्। कंगनाले पूर्व अभिनेता र फिल्म समीक्षक कमाल राशिद खान (केआरके) को आयुष्मानबारेको एक ट्वीटलाई कोट ट्वीट गर्दै 'चाप्लुस आउटसाइडर' लेखेकी छिन्।
केआरकेले ट्वीटमा आयुष्मान खुरानाले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र स्टारका छोराछोरीलाई तीन कारणले सघाइरहेको उल्लेख गरेका छन्।
पहिलो, उनले बलिउडमा टिक्नु छ। दोस्रो, उनी यशराज फिल्म्सका कलाकार हुन्। तेस्रो, सुशांत उनका प्रतिस्पर्धी थिए। केआरकेले आयुष्मानलाई सम्बोधन गर्दै लेखेका छन्, "तपाईंको फिल्म पनि आउनेछ र जनताले त्यसको उचित जवाफ दिनेछन्। शुभकामना।"
केआरकेको ट्वीटमा कंगनाले आफ्नो टीमको ट्वीटर ह्यान्डलबाट जवाफ दिएकी छिन्। उनले लेखेकी छिन्, 'चाप्लुस आउटसाइडर केवल आफ्नो औसत क्षमता कारण माफियाको सपोर्ट गर्छन्। यस्ता व्यक्तिबाट कसैलाई खतरा हुँदैन र उनीहरु सधैं यस्तो विवाद र टकरावबाट फाइदा उठाउँछन्, जसको सामना सुशान्त र म जस्ता मानिस गर्छौं। यस्ता व्यक्तिहरु खुला रुपमा यस्तो कुरालाई नकार्दै ठट्टाको विषय बनाउँछन्।"
टीभी कार्यक्रम प्रस्तोता हुँदै बलिउडमा प्रवेश गरेका आयुष्मानले सन् २०१२ मा 'विकी डोनर' बाट ठूलो पर्दामा कदम राखेका थिए। त्यसयता उनले चरित्र छनोटमा ध्यान दिंदै काम गरेका फिल्महरु निकै रुचाइएका छन्। पछिल्लो समयका फिल्म 'अन्धाधुन' (२०१८) र 'बाला' (२०१९) बाट उनले प्रशस्त तारिफ पाएका थिए। - एजेन्सी