अमेरिका, ब्राजिल र भारतमा कोरोनाबाट २ हजारभन्दा बढीको मृत्यु
कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकहरु अमेरिका, ब्राजिल र भारतमा पछिल्लो २४ घण्टामा २ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ।
यी तीन मुलुकमा कोरोनामा २ हजार १ सय ३१ संक्रमितको ज्यान गएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ। जसमध्ये भारतमा मात्रै पछिल्लो २४ घण्टामा १ हजार १३ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ५ सय ९३ जनाको र अमेरिकामा ५ सय २५ ले ज्यान गुमाएका छन्।
यी मुलुकमा नयाँ संक्रमित पनि उल्लेख्य थपिएका छन्। भारतमा एक दिनमै ६२ हजार १ सय १७ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ ६२ हजार भन्दा बढी संक्रमित लगातार भेटिएको तेस्रो दिन हो।
भारतमा कुल संक्रमितको संख्या २२ लाख १४ हजार १ सय ३७ पुगेकोमा १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भइसकेका छन्। त्यहाँ संक्रमणबाट ४४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमित ६ लाख ३५ हजार ३ सय ९३ जना उपचाररत छन्।
यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार ८१६ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५१ लाख ९९ हजार ४ सय ११ पुगेको छ। जसमध्ये २६ लाख ६४ हजार ६ सय १२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १ लाख ६५ हजार ६ सय ८ को ज्यान गएको छ। अब त्यहाँ सक्रिय संक्रमित २३ लाख ६९ हजार १ सय ९१ जनाको उपचार चलिरहेको छ। जसमध्ये १७ हजार ८९७ जनाको अवस्था गम्भीर छ।
उता ब्राजिलमा २२ हजार २ सय १३ जना नयाँ संक्रमित थपिंदा कुल संक्रमितको संख्या ३० लाख ३५ हजार ५ सय ८२ पुगेको छ। त्यहाँ संक्रमणबाट हालसम्म १ लाख १ हजार १ सय ३६ जनाको मृत्यु भइसकेको छ। कुल संक्रमितमध्ये ८ लाख १५ हजार ९ सय ८६ जना संक्रिय संक्रमित अब उपचाररत छन्।