व्यक्तिको नाममा दर्ता सार्वजनिक जग्गा खोसिंदै, किनबेचमा संलग्नले शुरु गरे क्षतिपूर्तिको लविइङ्ग
बुटवल उपमहानगरपालिका वडा नम्बर १२, नयाँगाउँस्थित् भैरहवा टोलमा सार्वजनिक जग्गा टुक्रा पारेर व्यक्तिलाई विक्री गरेका जग्गा व्यवसायीले आफूहरुले बेचेको जग्गाको शाेधभर्ना दिलाउन नगरपालिकासँग लविइङ्ग शुरु गरेका छन्।
उपमहानगरपालिकाले त्यो ठाउँमा ढुवानीग्राम निर्माणका लागि प्रक्रिया अघि बढाएपछि त्यो स्थानको जग्गाको किनवेचमा संलग्न दिनेश भुसाल र घनश्याम घिमिरेले लविइङ्ग शुरु गरेका हुन्। आफूहरुले विक्री गरेको जग्गा उपमहानगरपालिकाले लिएपछि त्यो जग्गा किन्ने १२ जना व्यक्तिलाई त्यसको शाेधभर्ना दिनुपर्ने भन्दै उनीहरुले विभिन्न तहबाट लविइङ्ग गरिरहेका छन्।
घिमिरे र भुसालबाट जग्गा खरीद गरेका व्यक्तिहरुले सो जग्गाको जोतभोग गर्न दिन माग गर्दै बुटवल उपमहानगरपालिकामा निवेदन दिएका छन्।
त्यो सार्वजनिक जग्गा किनवेच कार्यमा संलग्न दिनेश भुसालले उपमहानगरपालिकाले आफूहरुको अतिक्रमण गरेपछि क्षतिपूर्ति दिनुपर्ने दाबी गरे।
“थुप्रै मानिसले सरकारी जग्गा लालपुर्जा बनाएर खाएका छन्। त्यहाँ हामीले कुनै चउर र वन खनेर अतिक्रमण गरेको होइन” भुसालले भने, “जोतभोग गर्दै आएको जग्गा लिएर वेचेका हौं।”
यो पनि:
बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी अतिक्रमण तथा जोतभोग गरिएका सार्वजनिक जग्गाको संरक्षण गर्ने उपमहानगरको अभियान रहेकाले सार्वजनिक जग्गाको किनवेच कुनै हालतमा स्वीकार्य नहुने र त्यस्ता व्यक्तिलाई कानूनको दायरामा ल्याएर सजायको भागीदार बनाइने बताउँछन्।
“कुनै पनि सार्वजनिक जग्गा किनवेच गर्न पाइदैन। सार्वजनिक जग्गा किनवेच गर्नेहरु कानूनको दायरामा आउँछन्”, सुवेदीले भने, “नयाँ गाउँको जग्गाको विषयमा सम्वन्धित निकायबाट अनुसन्धान भइरहेको छ। हामी अनुसन्धानलाई सहयोग गर्छौ।”
व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गालाई समेत भूमि आयोगसंगको समन्वयमा खारेज गरिने सुवेदीले बताए।
नयाँगाउँको जग्गा कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्र प्रसाद अधिकारी र नयाँगाउँकै बालकृष्ण गैरेले शुरुमा चन्द्र बहादुर पुनबाट खरिद गरेका थिए।
कित्ता नम्बर ६०९ को ११ कठ्ठा तीन धुर, कित्ता नम्बर १८० को २ कठ्ठा छ धुर, कित्ता नम्बर १८१ को २ कठ्ठा ५ धुर र कित्ता नम्बर ६११ को २ विघा ३ कठ्ठा १७ धुर जग्गा उनीहरुले ३० पुस २०७२ मा बुटवल तामनगरका दिनेश भुसाल र बुटवल पुल्चोकका घनश्याम घिमिरेलाई पाँच करोडमा बिक्री गरेका थिए।
यो पनि:
गैरे र अधिकारीले कित्ता नम्बर १७७ को जग्गालाई जिल्ला नापी कार्यालय र जिल्ला मालपोत कार्यालयमा ६०९ र ६११ बनाएका थिए। त्यसमध्ये कित्ता नम्बर १७७ बाट ६०९ मा रुपान्तरण गरिएको ११ कठ्ठा तीन धुर जग्गा व्यक्तिका नाममा दर्ता गराइएको थियो।
अधिकारी, गैरे, भुसाल र घिमिरेबीच भएको करारनामा कागजमा कित्ता नम्बर ६११ लाई ऐलानी जग्गाको रुपमा स्वीकार गरेर विक्रि वितरण गरिएको थियो।
अधिकारी र गैरेसँग किनेको जग्गा नै भुसाल र घिमिरेले विभिन्न व्यक्तिलाई टुक्रा पारेर बिक्री गरेका थिए।