‘जिउँदै मरे जस्तो लाग्छ तैंले छोएर’
सोच, तेरो सोचमा छ, खोट
मेरो मनमा छ चोट, तेरो छ तेरै दोष
खोट मेरो मनमा छ चोट, तेरो छ, तेरै दोष
२० डिसेम्बर २०१९ मा यूट्युबमा राखिएको ‘सोच’ बोलको यो गीतको बारे गायिकाले लेखेकी छन्, ‘यो मौन आवाजहरुको क्रोधबाट उत्पन्न भएको हो, यसले मौन यौनशोषणका पीडितहरुलाई साहस प्रदान गर्नेछ, यो यस्तै मौन आवाजहरुको लडाइँको एक पुकार हो।
गीतमा प्रतिकारको प्रतीकका रुपमा चिच्याएको भावमा भनिएको छ–
खोसिएको मेरो शरीर चिसो भएर
आफैंसँग घृणा लाग्छ तैंले छोएर
अन्धकारमा मलाई राखी एक्लो देखेर
जिउँदै मरे जस्तो लाग्छ तैंले छोएर
ललितपुरकी रचना दाहाल (२२) त्यतिबेला कक्षा ३ मा पढ्थिन् जतिबेला उनकै शिक्षकले उनीमाथि यौनशोषण गरे। ९ वर्षकी उनलाई त्यो वेला आफूमाथिको यो पीडा सुनाउने आँट कसैलाई भएन। भित्रभित्रै गुम्सिएकी रचनाले त्यतिबेलैदेखि आफ्ना भावनालाई कोरेर राख्न थालिन्। ‘सोच’ त्यसैको प्रतिफल हो।
रचनाले रकर्ड गरेको पहिलो गीत भने ‘भुमरी’ हो। अप्रिल १९, २०१९ मा यूट्युबमा राखिएको यो गीतले डेढ लाख ‘भ्युज’ पाइसकेको छ। यो गीतमा महिलाको जीवनलाई भुमरीका रुपमा अर्थ्याइएको छ, महिला जो जिन्दगीभर कुनै न कुनै समस्यामा अल्झिरहन्छन्।
”आफ्नाे पीडाले गर्दा हरेकको जीवनको पीडा देख्ने भएछु”, आफ्ना गीतमा व्यक्त आक्रोशको अन्तर्यबारे रचना भन्छिन्, त्यो कहाली।
ती बालयौन दुराचारी गणित शिक्षक थिए, जसले कक्षा ३ देखि ५ सम्म रचनालाई कक्षाकोठामै सबै विद्यार्थीका सामु दुराचार गरिरहे। “लगातार दुई वर्षसम्म सर्ट र फ्रकबाट हात छिराएर शोषण गरिरह्यो। विस्तारै बढ्दै गरेका स्तन त्यसको हातले समाउँदा कत्ति साह्रो दुख्थ्यो !”, यही सातामात्र रचनाले हिमालखबरसँग पीडा साटिन्।
आफूले परेको अप्ठेरो प्रतिकार गर्न असमर्थ रचनाले गणित सरको कक्षा आउने वित्तिकै कि भित्ता कि बीचको सिटमा बस्न दिन साथीहरुसँग अनुरोध गर्थिन्। तर, ती सरले उनलाई पुनः छेवैमा बोलाउँथे। सरले नै त्यसो भनेपछि अरु विद्यार्थीको आनाकानी गर्न साहस कहाँ ?
“त्यो सर कहिलेकाहीं छेउमा आउँदा पूरै अन्धकारले छोपेजस्तो हुन्थ्यो, बाँकी केही पनि कुरा दिमागमा आउँदैनथ्यो”, रचना भन्छिन्।
रचनालाई लाग्छ, आफू धेरै सोझी भएकैले उनलाई दुई वर्षसम्म त्यो सरले त्यसैगरी शोषण गरिरह्यो। यही कारणले उनको पढाइ पनि कमजोर भयो। तर, अनुत्तीर्ण भने भइनन्। ‘त्यस्तो घटना नभएको भए म स्मार्ट विद्यार्थी हुन्थे होला’, आजसम्म रचनालाई यस्तो लागिरहन्छ।
जब रचना कक्षा ६ पुगिन्, त्यसपछि बल्ल सरको शोषण छुट्यो। तर, उनलाई त्यो सर फेरि पढाउन आउने पो हो कि भन्ने लागिरहथ्यो। किनकि कक्षा चढे पनि स्कूल त उही थियो।
रचनालाई शोषणबाट मुक्तिको आभास पहिलोपटक त्यतिबेला भयो, जतिबेला उनी कक्षा १० उत्तीर्ण भइन्। “स्कूल छाडेपछि नै म बेग्लै भएको”, उनी भन्छिन्, “साथीहरुसँग बोल्ने, हाँस्ने, रमाउने भएकी छु। तर बेला बेला त्यो डरको छायाँले भने सताइरहन्छ।”
संगीतको संगत
सानैदेखि गीत गाउन मन पराउने रचना स्कूलकै गायन प्रतियोगितामा पनि सधैंजसो पहिलो, दोस्रो हुन्थिन्। संगीतको औपचारिक शिक्षाका लागि संगीतका कक्षामा पनि भर्ना भइन्। तर, त्यसले निरन्तरता पाएन।
एकदिन एक्लै गिटार बजाउँदै गुनगुनाउँदै गरेको देखेर गुरुले स्टेजमा गाउने मौका दिए। ठूलो स्टेजमा नचिनेका सबैले राम्रो भनेपछि पहिलोपटक उनलाई आफू गाउन सक्छु भन्ने आत्मविश्वास पलायो। त्यतिबेला उनी १६ वर्षकी थिइन्।
त्यसपछि उनले केही समय शास्त्रीय संगीत पनि सिकिन्। तर, फेरि पनि सिकाइले निरन्तरता पाएन। अभ्यास भने जारी राखिन्। नेपालमै बस्ने एक अष्ट्रेलियन गुरुसँग केही समय पश्चिमा संगीत सिकिन्।
२०७१ सालदेखि आरोह ब्याण्डसँग मिलेर उनले काठमाडौंका रेष्टुरेन्ट र बारहरुमा गाउन थालिन्। अरुका गीतहरुसँगै उनले आफ््नै रचना र कम्पोजिसनका गीतहरु पनि गाउन थालिन्। यसपटक पनि उनले आफ्ना ‘ओरिजिनल’ गीतमा ताली पाइन्। त्यसपछि साथीहरुले पनि आफ्नै गीत गाउन जोड गर्न गर्न थाले। त्यसैको परिणाम हो अहिले उनी गायक, गीतकार, संगीतकार सबै बनेकी छिन्।
वास्तविक ‘उन्मुक्ति’
त्यतिबेला उनी स्नातक तह अध्ययनरत थिइन्। टेलिभिजनमा एकाएक बोधिसत्व नाम गरेका गुरुले विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको कुरा सार्वजनिक भयो, त्याे मान्छे मेरै दाइ (रोचक) को पनि गुरु भएकाले दाइले मलाई भन्यो।
“त्यसपछि एकाएक मलाई एक दशकअघि मैले भोगेको घटनाले ‘हिट’ गर्यो र दाइलाई सुनाएँ।” बहिनीको कुराले अचम्मित दाइले त्यो दिन केही भन्नै सकेनन्।
भोलिपल्ट दाइले ‘एक्सन लिने हो ?’ भनेपछि रचनामा कहिल्यै नपलाएको आँट पलायो। अनि मात्र उनीहरुले द काठमाडौं पोस्ट् का पत्रकारसँग घटनाबारे कुराकानी गरे।
पत्रिकामा बाल यौनशोषणको कुरा छापिएपछि विद्यालयमा हल्लीखल्ली भयो। पछि बुझ्दा ती शिक्षकले अरु पनि विद्यार्थीलाई यौनशोषण गरेको खुल्न आयो। विद्यालयले छानबिन समिति पनि गठन गर्यो। “प्रहरीकहाँ उजुरी गर्न खोज्दा केस पुरानो भयो उजुरी भनेर मिल्दैन भनियो, एक–दुई जना अभिभावकलाई पनि यसैगरी फर्काइएको सुनें”, उनी भन्छिन्।
उनले सुनेकी छिन्, यति हल्लीखल्ली भएर पनि ती शिक्षक अहिलेसम्म पनि त्यही विद्यालयमै पढाइरहेका छन् रे!
रचनालाई बेला बेला शुभचिन्तकहरुले भन्ने पनि गरेका छन्, ‘तिमीले आफूमाथिका शोषणका कुरा पहिल्यै बाहिर ल्याएको भए यतिबेला ती शिक्षकले सजाय पाइसक्थे। किन त्यसो नगरेको ?’ तर, यसो भन्नेहरुलाई उनी ९/१० वर्षे बालिकाको मनोविज्ञान बुझ्न सुझाउँछिन्।
“गाउँमै हुर्किनु भएका बुबाआमालाई शायद विद्यालयमा त्यस्तो हुन्छ भन्ने कल्पना पनि थिएन। छोराछोरीलाई त्यस्तो कुरा भन्न सक्ने वातावरण तयार पार्नुपर्छ भन्ने प्राथमिकता उहाँहरुको सोचाइमै पनि नआएको हुनसक्छ”, उनी भन्छिन्।
त्यसैले अहिलेका बुबाआमालाई उनको एउटा आग्रह छ– खानलाउन दिएर, राम्रो स्कूलमा भर्ना गरिदिएर मात्र छोराछोरीप्रति बुबाआमाको कर्तव्य पूरा हुँदैन। आफ्ना सन्तानसँग धेरैभन्दा धेरै कुराकानी गर्नुस्, नजिक हुनुस्। विशेष गरी छोरीका समस्या बुझ्ने गर्नुस्। अनिमात्र सन्तानमाथि हुने यस्ता कहालीलाग्दा घटना बेलैमा थाहा हुन्छन्। बेलैमा समाधान हुनसक्छन्।
विवाह व्यवस्थापक
ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक रचना अहिले नेपालजस्ता देशमा नयाँ पेशा मानिएको वैवाहिक समारोह व्यवस्थापन (वेडिङ मेनेजमेन्ट) को काम पनि गर्दै आएकी छिन्।
डेढवर्ष यता उनले दुई दर्जनभन्दा बढी विवाह समारोह व्यवस्थापन गरिसकेकी उनको आम्दानी यसैबाट चलेको छ। रेकर्डिङको खर्च पनि धानेको छ।
बन्दाबन्दीकै बेला रचना ‘नेपाल–नर्वे लाइभ कन्सर्ट’ नामको नयाँ सांगीतिक प्रयोगमा पनि सहभागी भइन्। कन्सर्टमा स्वर दिने उनी नेपालमा थिइन् भने संगीतकारहरु नर्वेमा थिए।
यो कन्सर्ट पहिल्यै तय गरिएको कार्यक्रम थियो। तर, कोभिड–१९ महामारीले प्रत्यक्षलाई भर्चुअल लाइभ कन्सर्टमा बदलिदियो।
२४ जुलाईमा भएको उक्त कन्सर्टमा रचनाले ‘सपनाको राजा’ भन्ने नयाँ गीत गाएकी छिन्। “आम केटीहरुले एक दिन मेरो सपनाको राजा आउँछ, अनि म रानी हुन्छु भन्ने कल्पना गरेका हुन्छन्, तर यो गीतले अब हामी केटीहरुले आफैं राजा, रानी बन्नुपर्छ भन्न खोजिएको छ”, उनी भन्छिन्।
रचना अहिले आफ्नो चौथो गीत ‘दागबत्ती’को तयारीमा छिन्। लाग्छ, उनको मस्तिष्कमा गीतहरुका भावभूमि, संगीत संरचनाका अनेक खाका प्रष्फुटन हुन पर्खेर बसेका छन्।
“कुनै बेला पूरै शरीर तातो भएर आउँछ, रगत उम्लिएर आए जस्तो हुन्छ”, स्वयंलाई प्रश्न गर्दै भन्छिन्, “वर्षौं दबिएको स्वर बल्ल निस्किन थालेको पो हो कि?”