सोलुखुम्बुको चोकर्मा हिमताल फुट्यो
सोलुखुम्बुको चोकर्मा हिमताल फुटेको छ। जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा पर्ने चोकर्मा तालबाट विस्फोटको आवाज आएको र उक्त तालबाट पानी आउने खोलामा बहाव बढेको स्थानीयले जनाएका छन्।
लेदो माटो र पानीको बहाव बढेपछि सोलुदुधकुण्ड नगरपालिका वार्ड १ का स्थानीयहरू शनिबार हिमताल भएको क्षेत्रमा गएका थिए। उनीहरूले त्यहाँ चोकर्मा ताल फुटेको पाएको एक स्थानीयले बताए।
स्थानीयले ल्याएको भिडियो र तस्वीरका आधारमा ताल फुटेको पुष्टि भएको र चोकर्मा तालबाट आएको पानीले वार्ड नम्वर १ का स्थानीयहरूले बनाएका चौरीगोठ पनि बगाएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा ले बताए।
नाम्गेल जाङबु शेर्पाका अनुसार चोकर्मा तालबाट आएको पानी सहर्सवेनीमा जोडिएपछि सोलुखोला बन्छ। सोलुखोलामा शुक्रबार पानीको बहाव बढेको थियो। चोकर्मा ताल लम्वु हिमालको ५ हजार मीटर उचाईमा रहेको छ।
ताल फुटेपछि प्रमुख जिल्ला अधिकारीसहित साँसद र जनप्रतिनिधि तालको स्थलगत अध्ययनका लागि जाने तयारी भएपनि आइतबार खराब मौसमका कारण हेलिकोप्टर नउडेपछि स्थगित भएको छ।