साह १७ दिनपछि भारतबाट अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ का सुरेश साहलाई प्रहरीले १७ दिनपछि भारतबाट अपहरणमुक्त गराएको छ ।
गत फागुन १९ गते अपहरणमा परेका साहलाई भारतको बेतिया नजिकै रहेको मैन्मा जङ्गल क्षेत्रबाट ७ चैतमा अपहरणमुक्त गराएको महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
फागुन २२ गते सुरेशकी आमा देवसुनर देवीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आफ्नो छोरा सुरेश साह अपहरणमा परेको निवेदन दिएपछि सोही दिनदेखि महोत्तरी प्रहरीले प्रहरी निरीक्षक दीपक चोरबारको कमाण्डमा खोजतलास गरेको थियो ।
अपहरणमा परेपछि सुरेशका भिनाजु अमरनाथ महतोलाई भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रमा फिरौती रकम लिएर आउन फोन आएको थियो ।
त्यसपछि महोत्तरी प्रहरीले बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा खोजतलास गर्दा जंगलमा बन्धक बनाइराखेको अवस्थामा फेला पारेको हो ।
फिरौती रकम ल्याउन भनिएका नेपालकै बारा जिल्लाको कलैया नगरपालिका–१२ रामपुर बस्ने ५२ वर्षीय मुन्ना भन्ने सुरज चौधरी र काशी साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ५।५६ एमएमको गोली चार थानसमेत बरामद गरेको छ ।
अपहरणमा संलग्न दुवैलाई भारतीय प्रहरीले पक्राउ गरी भारतमै आवश्यक कारवाही अगाडि बढाएको छ भने अपहरणमुक्त भएका साहलाई बिहीबार नै उनका आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।