‘डान्सिङ वीथ द स्टार्स’ भदौ दोस्रो सातादेखि
भदौको दोस्रो हप्तादेखि ‘डान्सिङ वीथ द स्टार्स’ सञ्चालन हुने भएको छ। विभिन्न क्षेत्रका १२ जना सेलिब्रेटी नाच्ने यो ‘रियालिटी शो’ नेपालको ठूलो डान्सिङ रियालिटी शो रहेको आयोजकको दाबी छ।
कार्यक्रममा दर्शक नराख्ने र स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर सुटिङ गर्ने भएकोले सुरक्षित हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले बताए।
‘डान्सिङ वीथ द स्टार्स’ बीबीसी स्टुडियोको फ्रेन्चाईज शो हो। हरेक सेलिब्रेटीलाई एक जना कोरियो ग्राफर दिइएको छ। शो शुरु भएको दोस्रो सातादेखि दर्शक र निर्णायकको पचास÷पचास प्रतिशत नम्बर र भोटको आधारमा सेलिब्रेटी कार्यक्रममा टिक्ने छन्।
विभिन्न क्षेत्रको व्यक्तिहरुलाई पपुलारीटीको आधारमा छानिएको कार्यक्रम निर्देशक पौडेलले बताए। खेलकुदबाट हरी खड्का, फेसन क्षेत्रबाट प्रशान्त ताम्राकार, हास्यव्यंग्यबाट उमेश राई (फुलन्देको आमा), पप गायन युवाबाट बुद्ध लामा (नेपाल आईडल प्रथमका विजेता), सामाजिक क्षेत्रबाट ब्लाईन्ड रक्स की संस्थापक अध्यक्ष श्रृष्टि केसी लगायतको सहभागीता रहेका छन्।
अभिनेता दिलीप रायमाझी, कोरियोग्राफर रेनेसा बान्तावा राई र अभिनेत्री गौरी मल्ल निर्णायक रहने छन्। २६ एपिसोडको यो कार्यक्रममा विजेता जोडीले २० लाख नगद प्राप्त गर्नेछन्।
यो कार्यक्रममा सहभागी सेलिब्रेटीहरु नृत्य क्षेत्र बाहिरको हुने भएकोले प्रतियोगिता भन्दा पनि मनोरन्जनका लागि विशेष रहने निर्देशक पौडेलको भनाई छ।
‘डान्सिङ वीथ द स्टार्स’ को फ्रेन्चाइज शो भारतमा ‘झलक दिख्लाजा’ नामले चर्चित छ। साताको दुई दिन शुक्रबार र सनिबार हिमालय टेलिभिजनबाट रातको ८ बजे प्रत्यक्ष प्रसारण हुने कार्यक्रमको सञ्चालक २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठ र स्ट्यान्ड अप कमेडियन सुमन कार्कीले गर्नेछन्।