नेकपा वरिष्ठ नेता नेपाल भन्छन् - 'भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्ति आपत्तिजनक'
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।
भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई 'महान् भारतीय' भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक रहेको नेता नेपालको भनाइ छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालले "ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत वुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बॉकी नरहँदा-नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु।"
साथै नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसद्मै 'वुद्ध नेपालमा जन्मिएका हुन्' भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेको उल्लेख गरेका छन्।
उनले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न समेत अनुरोध गरेका छन्।