कांग्रेस प्रवक्ताको प्रश्न– चेपाङको घर जलाएर राम मन्दिर बनाउने?
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘आवेगको जवाफ आवेग’ले दिंदा भारत र नेपाल दुवै देशको हित नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले दुवै तर्फबाट भएको संवेदनशीलतामा चोट पुग्ने कार्य स्वीकार्य नहुने उल्लेख गरेका छन्।
शर्माले लेखेका छन्, “राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्, मूल विषय मोड्न सक्छन्, तर दीर्घकालीन हितमा जोड्न सक्दैन।”
बुद्ध भारतमा जन्मिएको भनेर भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति शर्माले आपत्ति जनाएका छन् “भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतयि विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ”, उनले लेखेका छन्।
शर्माले चितवनमा राम मन्दिर बनाउने कार्यप्रति समेत प्रश्न उठाएका छन्। चेपाङ घरमा आगो लगाएर राम मन्दिर बनाउने निर्णय प्रति शर्माले प्रश्न गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले लेखेका छन्, “भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवार?”