विश्वकप जित्ने इटालियन टोलीका सदस्य आन्द्रेय पिर्लो युभेन्टसको नयाँ प्रशिक्षक
इटालियन फुटबल लिग सिरि ए च्याम्पियन युभेन्टसले आन्द्रेय पिर्लोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ। खेलाडी जीवनमा आक्रामक प्लेमेकर फुटबलरको छवि बनाएका पिर्लोलाई युभेन्टसले दुई वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो।
यूरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएलगत्तै प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको युभेन्टसले त्यसको केही घण्टामै (शनिबार राति) आफ्ना पूर्व स्टार खेलाडी पिर्लोलाई प्रशिक्षकको जिम्मेवारी सुम्पेको हो। पिर्लो एक महीनाअघि मात्र युभेन्टसको अण्डर-२३ टीमको प्रशिक्षक नियुक्त भएका थिए।
लामो समय युभेन्टसबाटै व्यावसायिक फुटबल खेलेका पिर्लो इटालीको राष्ट्रिय टिमबाट खेल्दा संसारभरिका दर्शकको नजरमा परेका थिए। उनी इटालीले सन् २००६ मा फिफा विश्वकप जित्दा टोलीका महत्वपूर्ण खेलाडी थिए। फाइनलमा फ्रान्सलाई पराजित गरेर इटालीले विश्वकपको ट्रफी उचाल्दा पिर्लो नै म्यान अफ दी म्याच चुनिएका थिए।