कैलालीको चिसापानी र टीकापुरमा भारी वर्षा, देशभर मनसुनी बादल सक्रिय
न्यून चापीय रेखा नेपाल नजिक आएपछि फेरी मनसुन सक्रिय भएको छ। कैलालीको चिसापानी, धनगढी र टीकापुरमा अति भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार टीकापुरमा पछिल्लो ६ घण्टामा नै १०५ मिलिमिटर वर्षा भएको छ। टीकापुर क्षेत्रमा अहिले पनि वर्षा जारी छ।
चिसापानीमा पछिल्लो ६ घण्टामा १०६ मिलिमिटर वर्षा भएको छ। टीकापुर र चिसापानीमा भएको वर्षा अति भारी हो। २४ घण्टामा १०० मिलिमिटर वर्षा हुनुलाई अति भारी भनिन्छ। टीकापुर र चिसापानीमा छ घण्टाभित्र १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ।
धनगढीमा हिजो साँझ ६ बजेदेखि आज बिहान ६ बजेसम्म १२ घण्टामा ९०.६ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको तराई नजिक न्यून चापीय रेखा सक्रिय छ। जसले गर्दा गएरातिदेखि देशका केही स्थानमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी बादल विकसित भएको जनाएको छ। प्रदेश नम्वर २, बाग्मती, गण्डकी, प्रदेश नम्वर ५ र कर्णाली तथा सूदूरपश्चिम प्रदेशका केही भागमा वर्षा भइरहेकाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आगामी तिनदिनसम्म हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।