च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने, चेल्सी बाहिरियो
गए राति भएका खेलमा विजयी भएपछि बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेका छन्। अब क्वाटरफाइनलमा यी दुईबीच खेल हुनेछ।
चेल्सी र नापोली च्याम्पियन्स लिगबाट बाहिरिएका छन्। बार्सिलोनाले नापोली र बायर्नले चेल्सीलाई पराजित गरेका हुन्।
बार्सिलोनाले नापोलीलाई ३-१ गोलअन्तरले पराजित गरेको छ। बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, लियोनल मेस्सी र लुइस सुआरेजले गोल गरे। सुआरेजले पेनाल्टीबाट गोल गरेका हुन्। नापोलीका लागि एक मात्र गोल लोरेन्जो इन्सिग्नेले गरे।
नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगमा यी दुवै टीमले १-१ को बराबरी खेलेका थिए। बार्सिलोना लगातार १३औँ पटक क्वाटरफाइनल पुगेको छ। अन्य कुनै पनि टीम लगातार आठ पटकभन्दा बढी क्वाटरफाइनल पुगेका छैनन्।
यता बायर्नम्युनिखसँगको पराजयसँगै चेल्सी क्वाटरफाइनल पुग्न असफल भएको छ। बायर्न दोस्रो लेगमा ४-१ ले विजयी भयो। योसँगै समग्रमा ७-१ को जित निकालेर क्वाटरफाइनल पुगेको हो।
दोस्रो लेगमा बायर्नका लागि रोबेर्ट लेवान्डेस्कीले दुई तथा इभान पेरिसिक र कोरेन्टिन टोलिस्सोले १/१ गोल गरे। चेल्सीका लागि टाम्मी अब्राहमले सान्त्वना गोल गरे।