कोरोनाभन्दा दुर्व्यवहारको भाइरस कडा रहेछ!
शब्द तथा तस्वीरः कृष्णमाया उपाध्याय/फोटो.सर्कल
चैतको दोस्रो साता जब नेपाल र भारतमा बन्दाबन्दी शुरु भयो, जुम्ला, चन्दननाथ नगरपालिकास्थित बोहोरागाउँकी सरु नेपाली (१९) लाई भारत उत्तराखण्डमा काम गर्न गएका श्रीमान लोकेश नेपालीको चिन्ता लाग्न थाल्यो । उता श्रीमान पनि गाउँ कसरी फर्कने भन्ने तनावमा थिए ।
६ दिनको पैदल यात्रा गर्दै लोकेश गाउँ आइपुगे । र सोझैं घर पुगे । एकरात घर बसेर लोकेश र सरु गाउँमै रहेको क्वारेन्टिन स्थलमा बस्ने निर्णय गरे ।
१४ दिन क्वारेन्टिनमा बसेपछि उनीहरु दुवैको कोभिड–१९ रिपोर्ट नेगेटिभ आयो। अब बल्ल पूरै परिवारका साथ बस्न पाइने भइयो भनेर लोकेश फुरुङ्ग थिए । सरु भने खेतबारीको काम पुनस् शुरु गर्ने पाइने प्रतीक्षामा थिइन्। तर छिमेकी उनलाई आफ्नै खेतबारीमा टेक्न समेत दिएनन् ।
“तेरो बुढाले भारतबाट कोरोनाभाइरस ल्याएको भन्दै गाउँलेहरुले मलाई हप्काए ” सरु भन्छिन्, “हामीलाई कोरोना छैन भन्ने रिपोर्ट आए पनि गाउँलेहरुले दुर्व्यवहार गर्न छाड्दैनन्।”
सरुका छिमेकी, राजकुमार नेपाली (२७) मा गाउँलेको लान्छनाबाट पिडित छन् । भारतबाटै फर्किएका उनले पनि क्वारेन्टिनमा १४ दिन बिताइसकेका छन् । र, उनको रिपोर्ट पनि नेगेटिभ नै छ ।
“तर पनि पानी लिन जाँदा पनि छिमेकीहरु बोल्दैनन्, मैले नै रोग सार्छु जस्तो गरेर शंकाले हेर्छन,” राजकुमारको दुःखेसो छ, “कोरोनाभन्दा दुर्व्यवहारको भाइरस कडा रहेछ ।”