उपत्यकामा कोरोना संक्रमितको संख्या १००० नाघ्यो !
शनिबार काठमाडौं उपत्यकामा थप ६२ जना कोरोनाका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।
हाल उपत्यकामा कोरोना संक्रमितको संख्या १०४४ पुगेको छ।
यो पनि:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ५६ जना, ललितपुरका ३ जना र भक्तपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो।
यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ८२२ जना पुगेको छ। त्यस्तै ललितपुरमा १३७ जना र भक्तपुरमा ८५ जना पुगेको छ।
भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।
शनिवार कम कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कम देखिए पनि उपत्यकाका संक्रमित देखिएसँगै टोलहरू सिल गरिएका छन्। हिजो मात्रै एकैदिन उपत्यकामा कोरोनाका १०६ जना फेला परेका थिए।
बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ।
सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ। बिहीबार बिहानदेखि लागू हुनेगरी सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ।