प्रधानमन्त्री ओलीका कारण बालुवाटारबाट शुरु भएको त्यो तनाव
गत बिहीबार बिहान प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको खबर तत्कालै सबैतिर फैलियो। नेपालमा कोरोना संक्रमण पुष्टि भएका पहिलो मन्त्री थिए, यादव।
यो खबर फैलिएसँगै धेरैतिर तनाव शुरु भयो। त्यो तनाव सात वटै प्रदेशका मन्त्री र गृहमन्त्री रामबहादुर थापामा मात्र सीमित थिएन। प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यो तनावमा परे।
किनभने गएको १४ साउनमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा सहभागी थिए, मन्त्री यादव। त्यो कार्यक्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए। त्यो कार्यक्रममा सहभागी भएर फर्केको भोलिपल्टै स्वाबको नमूना दिएका यादवमा कोरोना संक्रमण देखिएको थियो।
मन्त्री यादवलाई संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओली, गृहमन्त्री थापालगायत धेरैको स्वाब परीक्षणका लागि नमूना संकलन गरियो। त्यो परीक्षणको नतिजाले भने धेरैको तनाव तत्कालका लागि कम गरिदिएको छ।
किनभने प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, कानून मन्त्री शिवमाया तुम्बाहाङ्फे लगायतको स्वाब परीक्षण नतिजा नेगेटिभ आएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि लगत्तै स्वाब परीक्षण गरेको र नतिजा नेगेटिभ आएको जानकारी दिएका छन्।
प्रदेशका मन्त्रीहरुले पनि स्वाब परीक्षणका लागि नमूना दिएका छन् तर नतिजा आइसकेको छैन। त्यस दिन बालुवाटारमा प्रहरी समायोजन सम्बन्धी बैठक आयोजना गरिएको थियो।
जब त्यो वैठकमा सहभागी भएका मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि भयो, त्यसलगत्तै सञ्चारमाध्यमहरुमा छ्याप्छ्याप्ती बनेको एउटा तस्वीरले धेरैको तनाव बढाएको थियो।
तनाव मात्र होइन, प्रधानमन्त्री ओलीदेखि मन्त्रीहरुले समेत महामारीका बेला हदैसम्म लापरवाही गरेको भनेर आलोचना भएको थियो। किनभने त्यो तस्वीरमा प्रधानमन्त्री ओलीलगायत कसैले पनि मास्क लगाएका छैनन्।
"प्रधानमन्त्रीज्यूले मास्क लगाएर पनि के तस्वीर लिनु, सबैले मास्क खोलौं भन्नु भो", बैठकका अर्का एक सहभागीले भने, "त्यसपछि सबैले मास्क खोल्यौं र केहीबेर तस्वीर खिच्ने काम भयो।"
मास्क मात्र होइन, पर्याप्त व्यक्तिगत दूरी पनि कायम गरिएको देखिँदैन। यो तस्वीरको पनि कथा छ। बैठक सकिएपछि प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले सामूहिक तस्बीर खिच्न प्रस्ताव गरेका थिए।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार तस्वीर खिच्ने तयारी हुँदा सबैजना मास्कमै थिए। तर, "प्रधानमन्त्रीज्यूले मास्क लगाएर पनि के तस्वीर लिनु, सबैले मास्क खोलौं भन्नु भो", बैठकका अर्का एक सहभागीले भने, "त्यसपछि सबैले मास्क खोल्यौं र केहीबेर तस्वीर खिच्ने काम भयो।"
यो तस्वीर गृहमन्त्री थापाको सचिवालयले सार्वजनिक गरिदिएको थियो। "प्रधानमन्त्रीज्यूले नै मास्क खोलौं भनेपछि कसरी हुन्न भन्नु?", ती सहभागीले भने, "त्यतिबेला त सामान्य रुपमा लिइयो, जब मन्त्री यादवलाई कोरोना पुष्टि भयो, हामीले ठूलै गल्ती गरेछौं भन्ने लाग्यो। धन्न कोरोना रिपोर्ट नेगेटिभ आयो।"