सुदूरपश्चिममा संक्रमितको परिवारका कम्तीमा दुई जनाको स्वाब परीक्षण हुँदै
सुदूरपश्चिम सरकारले कोरोनाभाइरस संक्रमित भइ आइसोलेसनमा बसेकाको परिवारका कम्तीमा दुई जनाको पनि स्वाब परीक्षण गर्न शुरु गरेको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए। उनले भने, “कोरोना पोजिटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ, जनस्वास्थ्य कार्यालयहरुले स्वाब सङ्कलन शुरु गरिसकेका छन्।”
उनका अनुसार समुदायमा गएर स्वाब संकलन गरिएकामध्ये डोटीमा समुदायका ४५० जनाको कोरोना परीक्षण भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी र डडेल्धुरामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ। बैतडीमा पनि भदौ दोस्रो सातादेखि परीक्षण शुरु हुने गरी प्रदेश सरकारले तयारी गरिरहेको छ।
शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी ४० हजार ५३७ को पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। जसमध्ये चार हजार ७६० जना कोरोना पोजिटिभ देखिएका छन्।
“यहाँ अहिलेसम्म समुदायस्तरसम्म कोरोना फैलिसकेको छैन ।” डा. अवस्थीले भने, “सङ्क्रमित अधिकांश बाहिरबाट आएर क्वारेन्टिनमा बसेका हुन् ।” सङ्क्रमित देखिएकामध्ये ७० प्रतिशत निको भएर घर फर्किसकेका छन्।
हालसम्म सुदूरपश्चिममा तीन हजार ९३८ जना सङ्क्रमित कोरोना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ। कोरोना सङ्क्रमणबाट कैलालीमा चार, बझाङ र बाजुरामा दुई÷दुई र अछाममा एक गरी नौ जनाको मृत्यु भएको छ।