आना स्टरः नेपाली लोकसंगीतकी अमेरिकी अध्येता
अमेरिकाको टेक्सास, क्यालिफोर्निया राज्यका आधुनिक चमकधमकमा बाल्यकाल बिताएकी आना स्टर नेपालका कुनाकन्दराका लोकसंगीतकी दुर्लभ विदेशी अध्येता बनेकी छन्।
चार दशकभन्दा अघिको कुरा, अमेरिकी हवाई सेनामा काम गर्थे– रिचर्ड स्टर। बसाइँ थियो, टेक्सास। यिनै रिचर्ड र गौल मेरी दम्पतीका ३ छोरीमध्ये जेठी थिइन्, आना मेरी स्टर।
२७ फागुन २०३६ मा जन्मिएकी आना २ वर्षकी हुँदा परिवार क्यालिफोर्निया सर्यो। अंग्रेजी र स्पेनिस भाषामा पढाइ हुने स्कूलमा उनले कक्षा ५ छिचोलिन्। संगीतमा सानैदेखि रुचि थियो। बाँसुरी, पियानो बजाउँथिन्, गाउँथिन्।
स्नातक दोस्रो वर्षमा आनाको अध्ययनको मूल विषय ‘पश्चिमा शास्त्रीय बाँसुरी बादन’ र ‘धर्मशास्त्र’ थियो। यी विषयको अध्ययनको क्रममा उनले विदेशमा अनुसन्धान गर्ने छात्रवृत्ति पाइन्। उनी सहित अमेरिकी विद्यार्थीहरुको एक समूह पहिलोपटक भदौ २०५७ मा काठमाडौं आइपुग्यो।
पहाड, हिमाल, सगरमाथा र तराईका निकुञ्ज — नेपाल आउनुअघि आनाको मस्तिष्कमा स्वाभाविक बिम्ब थियो। तर, नेपाल बसाइँले यो देशको थप विशेषता बारे उनलाई परिचित गराउँदै लग्यो।
करीब १ महीनासम्म नेपालीभाषाको कक्षामा सहभागी उनले अर्को एक महीना एउटा विषयमा अनुसन्धान गर्नुपर्ने थियो। उनले ‘शास्त्रीय संगीत’ रोजिन्। तर, नेपालका गाउँहरु घुम्न थालेपछि उनलाई शास्त्रीय होइन, लोकगीतका भाकाहरुले तान्यो। जसै यसप्रति आकर्षण बढिरहेको थियो, चार महीनाको नेपालयात्रा पनि सकियो।
दोहोरीमा हुरुक्क
त्यसको दुई वर्षपछि २०५९ सालमा आना दोेस्रोपटक नेपाल आइन्। र, भक्तपुरस्थित काठमाडौं विश्वविद्यालयको संगीत विभागमा चार महीना पढाइन्। अध्ययनका क्रममा उपत्यका र आसपासका ठाउँ जाँदा जताततै लोकदोहोरी गीत सुनिन्थे। ती गीतमा पालैपालो पुरुष र महिलाले उस्तै भाकामा गाएको सुन्दा उनमा त्यसबारे जान्ने रुचि बढ्यो। तर, यसपटक पनि अधुरो इच्छा पूरा गर्ने प्रतिबद्धता सहित उनी अमेरिका फर्किइन्।
यो पनि पढ्नुहाेस्– अमेरिकाका गुम्बा सञ्चालक जोन भन्छन्– एकपटक बुद्धभूमि नेपाल जाने धोको छ !
एक वर्षपछि २०६० सालमा फेरि नेपाल तानिएकी आनाको भेट लोकगायिका शिला आलेसँग भयो। आलेले आनालाई काठमाडौंको निरमाया रोधी क्लबमा लगिन् र प्रत्यक्ष दोहोरी देखाइन्।
“दोहोरी साँच्चै नै कठिन सांगीतिक अभ्यास हो”, नेपालको लोकसंगीतमै अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गरेकी आना भन्छिन्, “लोकदोहोरी गायक–गायिकामा कवि मन चाहिन्छ, आशुकवि जस्तै।”
यसबीचमा उनले पूर्वेली भाकाका लोकगायक तुलसी पराजुली, सत्यकला राई सहित थुप्रैसँग संगत पनि गरिन्। र, लोकगीतको धुन र भावलाई नियाल्ने प्रयत्न गरिन्।
यसरी हेर्दा, लोकगीत र त्यसमा पनि दोहोरीले पुरुष र महिला बीचको लैङ्गिक सम्बन्ध, वर्ग र जातजातिका विभेद र मिलनका भाव, स्थान विशेषको संस्कृति, भाषा, शैली आदिलाई प्रकट गर्ने निष्कर्ष निकालिन्।
गाउँले पहिरन, गाउँकै खाना
लोकगीतका भाका, भाव र मानिसका जीवन शैलीमा तिनले पारेको प्रभाव अनुसन्धान गर्दै घुम्दा आनालाई नेपाली गाउँले खाना समेत स्वादिला लाग्न थाले। त्यसैले पनि हवाईको उनको भान्सामा बेलाबेला काठमाडौंका नेवारी खाजाघरमा पस्किइने आलुको अचार बन्छ।
“मलाई लोकल कुखुराको मासु र ढिँडो मीठो लाग्छ”, उनी भन्छिन्। रायो र लट्टेको साग पनि उनले सधैं सम्झिने नेपाली परिकार हुन्।
यो पनि पढ्नुहाेस्– नेपाल सम्झाउने अमेरिकाको वोइलिङ स्प्रिङ पार्क
आनाले पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा जमेर लोक र दोहोरीगीत गाएकी छिन्। गाउँदा उनी स्थानीय पहिरनमा ठाँटिएकी हुन्छिन्।
उनी सम्झिन्छिन्, २०६२ सालमा पुगेको लमजुङको बेतेनी गाउँ। त्यो दिन गाउँमा आमा समूहको भेला थियो। भेलामा लोकदोहोरी गीत गाउने कार्यक्रम पनि रहेछ। समूहमा कसैले “अब तपाईंको पालो” भन्दै आनातिर औंल्यायो। अनि आनाले तुक्का हालिन्, “आएँ म त यो गाउँमा खुरुक्क, सबै बुझ्न सुख र दुःख, मिर्मिरेको घाम......।”
आनाले कथेको लोकदोहोरीको यो पहिलो तुक्का थियो। त्यो दिन उनले यस्ता चारवटा तुक्का हालिन्। लोकदोहोरी गायक गायिकासँगको सरसंगत, अध्ययन र उत्सुकताले उनमा गाउन सक्छु भन्ने आँट दिलायो। त्यसयता आनाले गाएका दोहोरीहरु सामाजिक सञ्जाल र यूट्युबमा पनि चर्चित छन्।
लोकगीतमा स्वर घुमाउने कलालाई ‘खिर्का’ भनिन्छ। आनाले अध्ययनका क्रममा धेरै नेपाली लोकगायक गायिकाको स्वरको शैली नापेकी छिन्। जस्तो कि, कोमल वलीको स्वर सीधा आउँछ। तर, शर्मिला गुरुङ वा देवी घर्तीको स्वर घुमेर आउँछ। ‘खिर्का’ ठाउँ अनुसार फरक फरक पनि हुन्छ। भन्छिन्, “बाग्लुङे खिर्का र दाङ वा बैतडीको खिर्का बिल्कुलै फरक हुन्छन्।”
दोहोरीपछि ‘क्रान्तिकारी’को पालो
पञ्चायतकालसम्म नियम नै थियो, गीतमा राजनीति नघुसाउने, यसो गरिए पक्राउ पर्ने खतरा हुन्थ्यो। संगीत भनेको माया, प्रेम, भक्तिमात्र अभिव्यक्त गर्ने माध्यम हो भन्ने थियो। तर, पञ्चायतकालमै भूमिगत रुपमा राजनीतिक व्यवस्था परिवर्तन र क्रान्तिका गीत गाइन्थे, बज्थे। पछिल्लो समयमा लोकभाकामा प्रशस्त राजनीतिक र सामाजिक सुधारका शब्द सुनिन्छन्।
आनाले नेपाली प्रगतिशील र क्रन्तिकारी गीतहरुबारे अनुसन्धान गरिरहेकी छिन्। युनिभर्सिटी अफ हवाईकी एशोसिएटस् प्रोफेसर डा.आनाले रेडियो नमोबुद्धका अध्यक्ष भक्त स्याङ्तानको सहकार्यमा जनवादी गायक खुसीराम पाख्रिनको जीवनीमाथि वृत्तचित्र पनि बनाइन्। पाख्रिन पहिलो संविधान सभामा सदस्य समेत थिए।
यो पनि पढ्नुहाेस्– लक्ष्मीलाई आएको प्रियंका चोपडाको त्यो फोन
२०७६ सालमा अमेरिका फर्किनु पूर्व उनले पूरै एकवर्ष रक्तिम र सामना परिवारका साथीहरुसँग बिताइन्। त्यसक्रममा भक्तपुरमा नेपाल मजदूर किसान पार्टीका कार्यक्रममा प्रस्तुत हुने गीत र नृत्यहरुको पनि अध्ययन गरिन्।
नेपालमा अझै पनि नेपाली संगीतको सैद्धान्तिक ज्ञान लिन भारत जाने चलन छ। कतिपयलाई लाग्न सक्छ, नेपाली संगीतको मौलिक सिद्धान्त नै छैन। तर, त्यो लेख्य रुपमा मात्र नभएको आनाको भनाइ छ। कोभिड– १९ को महामारी हुने थिएन भने यही अनुसन्धानका लागि यतिबेला उनी नेपालमै हुने थिइन्।
यही नेपाली मौलिक संगीतको सूत्र पहिल्याउन यतिबेला आना सुरेन्द्रविक्रम शाह अर्थात् सुवि शाहका कृतिको अध्ययनमा छिन्। २०६५ सालमा निधन भएका शाहले मादल, बालन गाथाको झलक, नुवाकोटको युद्धसम्बन्धी पाङदुरे नाँच, नेपाली लोकगीतको झलक पुस्तक लेखेका छन्। तर, सोरठी, नेपाली नृत्य, बाँसुरी बारे लेखिएका कृति अझैसम्म अप्रकाशित छन्। आना अहिले उनै शाहका प्रकाशित तथा अप्रकाशित सामग्रीको अंग्रेजी अनुवाद गरिरहेकी छन्।
आनाले सन् २०१७ मा लेखेको पुस्तक ‘सिङ्गिङ अक्रस डिभाइड्स: म्युजिक एण्ड इन्टिमेट पोलिटिक्स इन नेपाल’ ले २०१९ मा प्रतिष्ठित बर्नाड एस कोहन पुरस्कार प्राप्त गरेको छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालय छापाखानाले छापेको यो पुस्तक नेपाली लोकसंगीत अध्ययन गर्नेका लागि गहकिलो स्रोत सामग्री मानिन्छ।
लोकमा लिन
बितेका २० वर्षमा आधाभन्दा बढी समय नेपाल बसेकी आनाले अझै थुप्रै नेपाली डाँडापाखा, गाउँबस्ती चहार्न बाँकी छ। यी गाउँ चहारेर उनी लोकसंगीतबारे थप नयाँनयाँ कुरा खोज गर्न चाहान्छिन्।
याे पनि पढ्नुहाेस्– साइँली, सुब्बिनी, मास्टरनी, फलानोकी आमा हाेइन, नामैले चिनिन थाले हजुरआमाहरु
“गीत–संगीत मार्फत सुन्दर भाका र शब्दका साथ इतिहास, पहिचान र स्थानीय ज्ञानका गहन कुरा प्रकट हुन्छन्”, आना भन्छिन्, “यस्ता कुराको मूल्य सबैलाई थाहा होस् भनेरै म नेपाली लोकगीतको खोज अनुसन्धान र प्रस्तुतिमा लागिरहेकी हुँ।”
आना अमेरिकाको हवाई राज्यमा बस्छिन्, जहाँबाटै हवाइन गिटार विस्तार भएको मानिन्छ। तर, उनको कोठामा हरपल गिटारका धुन होइन, झण्डै साढे आठहजार माइल टाढा नेपालका कुनाकन्दरा, भीरपाखा, खेत–खलियान र नदीकिनाराका मौलिक लोकधुन बजिरहन्छ। उनको तनमन यिनै लोकसंगीतका बहुआयाममा लीन रहन्छ।