काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ भदौसम्म बन्द हुनेछन् यी सेवा
कोभिड-१९ को जोखिम बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूले प्रदान गर्ने सेवा घटाएका छन्। आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको बैठकले २५ साउनदेखि ८ भदौसम्मका लागि सेवा प्रवाह घटाउने निर्णय गरेको हो।
बैठकपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार नागरिकता र प्रतिलिपि वितरण, राहदानी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नविकरण, निजी सुरक्षा कम्पनी नवीकरण र नाबालिग परिचयपत्र वितरणसम्बन्धी सेवा हाललाई स्थगित गरिएको छ।
तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक कामको लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने नियमित हुनेछ।
करीब तीन महीना लामो बन्दाबन्दीपछि १ असारदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सेवाहरू नियमित गरेको थियो। नियमित सेवा प्रवाहमा आवश्यक सतर्कता अपनाइएको भए पनि सेवाग्राहीको अत्यधिक भीडभाडका कारण कोभिड–१९ को जोखिम बढेकाले अहिलेलाई केही सेवा प्रवाह स्थगित गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।