‘यो महामारी हामी जस्ता गरीबलाई भोकै मार्न आएको रहेछ’
उन्नती चौधरी, कैलाली
कैलालीको गोदावरी नगरपालिका–७ की कल्पना नगारी (३०) ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएकी छिन्। तर, यसपाली उनलाई कामको चापाचाप हुने रोपाइँको वेला समेत कसैले काम दिएनन्। काम नपाउनुको कारण हो, उनका श्रीमान्मा कोरोनाभाइरसको संक्रमण हुनु।
भारतमा मजदूरी गर्दै आएका उनका श्रीमान् टीकानारायण नगारी त्यहाँ महामारी र बन्दाबन्दीका कारण काम बन्द भएपछि १५ वैशाखमा नेपाल फर्किए। आएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भयो। ५० दिनको क्वारेन्टिन बसाइपछि घर पुगेका उनी फेरि एक साता गोठमा अलग्गै बसेर मात्रै परिवारसँग घुलमिल भए। तर, यो दलित परिवारले समाज र टोल छिमेकमा त्यही संक्रमणको कारण छिछि र दूरदूर भोग्दै आएका छन्। उनीहरूका दुई छोरा छन्।
हेलाहोचाको पीडाभन्दा पनि गुजाराको लागि काम नभेट्दा भोकमरीले मरिने डरले सताएको कल्पना बताउँछिन्। “कामै नभएपछि पैसा हुने कुरै भएन, पेट कसरी पाल्ने निकै चिन्ता छ”, उनले भनिन्।
“आजको छाक जोहो गर्यो, भोलि के खाने चिन्ता हुन्छ। सम्झँदा बेहोश हुन्छु जस्तो लाग्छ। यस्तो वेला असारमा रोपाइँ शुरु हुँदा काम पाइएला भन्ने लागेको थियो। तर, ‘तेरो श्रीमान्लाई कोरोना छ, तँलाई पनि सरेको होला’ भनेर काम नै दिएनन्।”
- कल्पना नगारी
उनीहरूको आफ्नो घर छैन। देवरानीले दिएको एउटा कोठामा बस्ने गरेको कल्पनाले बताइन्। २०७६ पुसमा सासू बितेपछि काजकिरियाका लागि साहुबाट लिएको ऋण चुक्ता गर्न भारत पसेका श्रीमान् महामारी र बन्दाबन्दीका कारण फर्किएपछि परिवार नै भोकमरीको संकटमा परेको उनको भनाइ छ।
कल्पनाका अनुसार, दैनिक छाक टार्नै मुश्किल भइरहँदा साहुको ऋण ३० हजार नाघिसकेको छ। “आजको छाक जोहो गर्यो, भोलि के खाने चिन्ता हुन्छ। सम्झँदा बेहोश हुन्छु जस्तो लाग्छ”, उनी भन्छिन्, “यस्तो वेला असारमा रोपाइँ शुरु हुँदा काम पाइएला भन्ने लागेको थियो। तर, ‘तेरो श्रीमान्लाई कोरोना छ, तँलाई पनि सरेको होला’ भनेर काम नै दिएनन्।”
गोदावरी नगरपालिका–७ मै बस्ने कलावती आउजी (४०) लाई पनि दुःखको पहाडले थिचेको छ। ९ वर्षअघि श्रीमान् बितेयता जेनतेन गरेर तीन छोरा हुर्काइन्। पछिल्लो समय जेठो छोराको मृत्यु भयो। कान्छो छोरालाई मुटुको रोग छ। दुई कठ्ठा ऐलानी जमीन छ। भारतको बरेलीमा काम गर्ने २२ वर्षका माइलोे छोरा दीपकको कमाइले घर चलाउँदै आएकोमा बन्दाबन्दीले रोजगारी गुमेपछि दुःखका दिन शुरू भएको कलावती बताउँछिन्।
अहिले जेठी बुहारी, नाति, दुई छोरा र एक अनाथ बच्चाको भरणपोषणको चिन्तामा उनी छिन्।
रोजगारी गुमेपछि भारतबाट ३० जेठमा नेपाल आएका दीपकको कोरोना परीक्षण हुँदा संक्रमण देखियो। ३५ दिन क्वारेन्टिनमा राखिंदा दलित भएकै कारण जातीय विभेद भोग्नुपरेको दीपक सुनाउँछन्। घर आएर एक साता गोठमा क्वारेन्टिनमा बसे। “त्यहाँबाट निस्किन नपाउँदै आफन्त र छिमेकीबाटै छिछि र दूरदूर सुन्नुप¥यो”, उनले भने।
उनको रोजगारी गुमेयता दैनिक छाक टार्न साहुसँग हात थाप्ने क्रम टुटेको छैन। किराना पसलमै ५० हजार उधारो पुगिसकेको आमा कलावती बताउँछिन्। “यो महामारी त हामी जस्ता गरीबलाई मार्न आएको रहेछ”, उनले भनिन्।
भारतको बरेलीबाटै जेठको पहिलो साता फर्किएका गोदावरी–७ का हरिश विक (५०) आत्महत्या गर्ने मनस्थितिबाट गुज्रिएर बचेको सुनाउँछन्। अर्काको देशबाट जसोतसो ज्यान जोगाएर आए पनि आफ्नै देशभित्र भोगेको जातीय विभेद, अपमान र गरीबी सम्झँदा आत्महत्याको सोच बनाएको उनले बताए।
"विभेदको पीडासँगै गरीबी सम्झँदा क्वारेन्टिनमा हुँदा आत्महत्याको सोच पलायो। क्वारेन्टिनमा रहेका सँगैका साथीहरूले त्यसबारे थाहा पाएर सम्झाएपछि पो म झसङ्ग भएँ।”
- हरिश विक
६ वर्षपछि नेपाल आएका उनमा पनि कोरोना देखियो। ३५ दिन सरकारी क्वारेन्टिनमा बस्दा आफूमाथि विभेद भएको उनले बताए। उनी बस्दै आएको क्वारेन्टिनमा १३५ जनामध्ये ७० जनामा कोरोना पोजिटिभ देखिएको थियो, जसमा दुई जना गैरदलित थिए।
हरिशले भने, “हामीसँगै बसेका गैरदलितले तातो पानी, दिउँसो खाजा, भरपेट खाना पाउँथे। तर हामीले तातो पानी कहिल्यै पाएनौं। खाना पनि पेटभर पाएनौं। थप खाना माग्यो भने सक्कियो भन्थे।” अर्कातिर, त्यो ठाउँमा उनी नयाँ बासिन्दा भएकाले बोल्ने चिनजानका मानिस नहुँदा एक्लोपन बढ्दै गयो।
त्यसमाथि क्वारेन्टिनमा बस्दा बायाँ आँखामा समस्या देखियो। बिस्तारै धमिलो हुँदै अहिले बायाँ आँखाले देख्नै छाडेको उनी बताउँछन्। मजदूरीबाट गरेको भएभरको कमाइले गएको फागुनमा मात्रै घर बनेको छ। घर बनाएको ठाउँ नयाँ भएकाले ऋण दिने कोही नहुँदा आँखा उपचार गर्न र पेट गुजाराको समस्या रहेको उनको भनाइ छ।
विभेदको पीडासँगै यो गरीबी सम्झँदा क्वारेन्टिनमा हुँदा आत्महत्याको सोच बढेको उनी बताउँछन्। “क्वारेन्टिनमा रहेका सँगैका साथीहरूले त्यसबारे थाहा पाएर सम्झाएपछि पो म झसङ्ग भएँ”, उनी भन्छन्।
अहिले एउटा पसलबाट उधारोमा सामान ल्याएर उनले परिवारको गुजारा चलाइरहेका छन्। साहुले सामान दिइरहे पनि शुरुमै ब्याज असुल्ने गरेको उनी सुनाउँछन्। ५ हजारको सामान किन्दा साहुले डायरीमा ७ हजार लेख्छन् र भन्छन्, ‘तिमीले पैसा कहिले दिने हो कहिले, त्यही भएर ब्याज अगाडि नै जोडेको। चित्त बुझे लैजाऊ, नत्र केही छैन।’
“यो सबै सहनुको विकल्प पनि त छैन”, हरिश भन्छन्।
योजना बनाउँदै नगरपालिका
गोदावरी नगरपालिकाका विपन्न समुदाय कोभिड–१९ महामारी र बन्दाबन्दीपछि गरीबी र भोकमरीको चपेटामा रहँदा नगरपालिकाले उनीहरूलाई सम्बोधन गर्ने योजना बनाएको जनाएको छ।
नगरपालिकाकी उपमेयर रत्न कडायत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अनुसार अति विपन्न परिवार, दलित, महिला तथा सीमान्तकृत समुदायलाई रोजगारमूलक काममा खटाइने बताइन्। उनका अनुसार, गरी खाने वर्गलाई राहत दिने गरी नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गर्ने विषयमा पनि छलफल भएको छ।
उपमेयर कडायत भन्छिन्, “अति न्यून आर्थिक अवस्था भएका व्यक्तिहरूलाई कृषिमा अनुदान दिने, पुरानो सीप र हस्तकला प्रवद्र्धनको लागि सहयोग गर्ने, आयआर्जनतर्फ उन्मुख गराउने योजना पनि छ।”
अधिकारकर्मी एवम् दलित महिला अधिकार मञ्च (डीडब्लूआरएफ) नेपालकी अध्यक्ष सावित्रा घिमिरेले विपद्को वेला सरकारले दिने राहत दुई–चार दिनका लागि मात्रै सहयोग हुने भएकाले अब नीतिमै दलित समुदायको दीगो जीविकोपार्जनको योजना समावेश गर्नुपर्ने बताइन्।
गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया ‘ट्रान्जिट प्वाइन्ट’ भएकाले यो नगर कोरोना संक्रमणको उच्च जोखिममा रहेको उपमेयर कडायतले बताइन्। यो अवधिमा नगरपालिकामा भारतबाट ४ हजारभन्दा बढी मानिस आएका थिए। उनका अनुसार, नगरपालिकामा हालसम्म ३४९ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये २९४ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भएको छ।