पर्यटक नहुँदा हात्ती पाल्नै समस्या भो सौराहाका पर्यटन व्यवसायीलाई
कोरोनाभाइरस संक्रमणको महामारीका कारण पर्यटकीय गतिविधि ठप्प छन्। ११ चैत २०७६ देखि सुरु भएको बन्दाबन्दी लम्विएपछि होटल व्यवसायीहरूले आफ्ना सबै कर्मचारीलाई बिदा दिए। तर, चितवनको पर्यटकीय केन्द्र सौराहाको कथा भने फरक छ।
सौराहामा पर्यटकलाई घुमाउनका लागि निजी क्षेत्रबाट पालिएका ७० वटा हात्ती छन्। बन्दाबन्दीले होटल तथा रेष्टुरेण्ट ठप्प भएपछि कर्मचारीहरूलाई बिदा गरेका होटलहरूलाई अहिले आफैले पालेका हात्ती पाल्न समस्या भइरहेको छ।
सौराहास्थित राइनो लजका सञ्जालक विष्णु प्रसाद अर्याल हात्तीलाई न पाल्न न छोड्न सकिएको गुनासो गर्छन्। “पर्यटक आउँदा त्यसबाट प्राप्त हुने खर्चले हात्तीलाई पालिएको थियो, अहिले त हात्तीको खर्च धान्नै मुस्किल भयो,” उनी भन्छन्।
अर्यालले तीनवटा हात्ती पालेका छन्। अर्यालका अनुसार एउटा हात्तीको लागि दुईवटा माहुत चाहिन्छ भने दैनिक २० केजी धान, पराल र घाँस खुवाउनुपर्छ। साथै बिरामी खर्च बाहेक मासिक कम्तिमा एक लाख रुपैयाँ लाग्ने हात्ती सञ्चालन सहकारी संस्था सौराहा चितवनका उपाध्यक्ष नगेन्द्र चापागाई बताउँछन्।
पर्यटकीय गतिविधि ठप्प भएपछि हात्तीको खर्च धान्नै मुस्किल भएको व्यवसायीहरूको अनुभव छ। “बन्द भएको र नभएको समयमा हात्तीलाई सधैभरी एकनासले स्याहार सुसार गर्नुपर्छ, पर्यटक नआउँदा त पाल्नै गाह्रो भयो,” चापागाई भन्छन्।
बन्दाबन्दीमा समस्या भएपछि यस वर्ष सौराहा नजिकको कुमरोज सामुदायिक वनले हात्तीलाई नि:शुल्क चरनको सुविधा प्रदान गरेको छ।
सौराहाको आकर्षण हात्ती
सौराहा घुम्न जाने पर्यटकहरूको मुख्य आकर्षणमध्ये हात्ती सफारी हो। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सन् २०१९ मा सौराहा आएका १ लाख ८५ हजार मानिसले हात्ती सफारी गरेका थिए। “हात्तीविनाको सौराहा त कल्पना नै गर्न सकिन्न,” उनी भन्छन्, “कति त हात्ती हेर्न भनेर मात्र आउँछन्। हात्ती सफारीका लागि मात्र आएका आठ/दश हजार मानिसको त रेर्कड नै छैन।”
बिहान र साँझ हात्ती सफारी गराइन्छ। एक जना व्यक्तिलाई २ घण्टासम्म निकुञ्जमा हात्ती सफारी वापत नेपालीलाई एक हजार २ सय र विदेशीलाई १ हजार ६ सय शूल्क तय गरिएको छ। एउटा हात्तीमा चार जनाले सफारी गर्न सक्छन्।
बन्दाबन्दीको अन्त्य भएपछि सौराहामा आन्तरिक पर्यटकको केही चहल पहल होला र त्यसले कम्तिमा पनि हात्ती पालनका लागि खर्च उठ्ला भन्ने आशा व्यवसायीको थियो।
व्यवसायीहरूले करिव ४ महीनादेखि बन्द भएका होटल तथा रेष्टुरेण्ट समेत १५ साउनदेखि खोलेका छन्। तर, अहिलेसम्म सौराहामा पर्यटक गएका छैनन्।
“केही आन्तरिक पर्यटक आउँछन् कि भन्ने आसा थियो, फेरी संक्रमितको संख्या बढेपछि त्यो आस पनि हरायो,” होटल संघका अध्यक्ष भट्टराई भन्छन् “दशै तिहारमा आन्तरिक पर्यटक आइहाल्छन् कि भन्ने आशा हो, अहिले सवैले चाडपर्वलाई लक्षित गरी तयारी गरेका छन्।”
होटल संघका अनुसार होटलले विदा पठाएका २५ प्रतिशत कर्मचारीलाई बोलाएर होटलको सरसफाइ गरिरहेका छन्। अहिले हरेक होटलले तीन कोठासम्म सफा गरेर बस्न मिल्ने बनाएका भट्टराई बताउँछन्।
कोरोनाअघि पर्यटकको आगमनले हौसिएका व्यवसायीहरूलाई कोरोनाको महामारीले भने उठ्नै नसक्ने गरी क्षति पुगेको अर्का व्यवसायी माधव दुवाडी बताउँछन्। होटल संघ सौराहाका अनुसार सन २०१९ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्न १ लाख ८५ हजार पर्यटक आएका थिए भने २०२० को २० मार्चसम्म स्वदेशी र विदेशी गरी १ लाख ७२ हजार पर्यटक चितवन घुम्न आएका थिए।