कमरेड पुष्पकमल, सुविधा र इन्दिराको आँसु कहिले पुछ्नुहुन्छ ?
– सुजाता ढुंगाना
दृश्य–१
दुराडाँडा, लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई ३ माघ २०५८ मा तत्कालीन माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएर बीभत्स हत्या गरे। विद्यालयको कक्षाकोठामा पढाइरहेका बेला त्यहींबाट निकालेका माओवादीले अधिकारीलाई गलबन्दीले घाँटी कसेका र डोरीले रूखमा बाँधेर हत्या गरेका थिए।
अधिकारीको हत्या भएको खबरसँगै उनको मृत तस्वीर सार्वजनिक हुँदा सिंगो देश स्तब्ध बनेको थियो।
अधिकारीको स्मृतिमा प्रकाशित पुस्तक अनुसार उनी हरेक परिवर्तनको स्रोत शिक्षा हो भन्नेमा विश्वास राख्थे। गाउँका लागि असल मानिस थिए। तर, तत्कालीन विद्रोही माओवादीको नजरमा उनी ‘खराब’ ठहरिए र ज्यान गुमाए। हुन त त्यसबेला माओवादी पनि आफूलाई परिवर्तन पक्षधर बताउँथे। तर, परिवर्तन शिक्षाबाट हुन्छ भन्दा मुक्तिनाथ तिनै माओवादीबाट मारिए।
६ महीना पहिले, २०७६ माघको एक दिन काठमाडौंको अल्फाबिटा कम्प्लेक्समा रहेको स्काई हलमा मुक्तिनाथको १८ औं स्मृति दिवस मनाइँदै थियो। त्यहाँ मुक्तिनाथकी श्रीमती इन्दिरा र छोरालगायत परिवारजन मुलुकमा हिंसात्मक विद्रोह समाप्त भएको १४ वर्ष बित्दा पनि न्याय पाउन नसकेको पीडा पोखिरहेका थिए। उनीहरूमा छुट्टै खालको छटपटी थियो।
दृश्य–२
१६ साउन २०५९ मा दाङको तत्कालीन गोलटाकुरी गाविस वडा नम्बर ८, कौवाघारी नजिकै राजकोटको जंगलमा बिजुलीका लागि पोल बनाउनलाई रूख काट्न गएका सुविधा सार्कीका श्रीमान भुपाल सार्कीको हत्या भयो। त्यतिबेला भुपालसँगै त्यो गाउँका १२ जनालाई तत्कालीन शाही नेपाली सेनाको टोलीले माओवादी भएको आरोपमा गोली हानेर हत्या गरेको थियो। त्यसरी मारिने १२ जना नै दलित समुदायका थिए।
सुविधाले पछि थाहा पाइन्, उनका श्रीमान भुपाललाई जंगलमा खाल्डो खन्न लगाई गोली हानेर मारिएको रहेछ। त्यहाँबाट भाग्न सफल भएकाले सुविधालाई यो कुरा सुनाएका थिए।
श्रीमान मारिएपछि सुविधालाई अनेक संकट आइलागे। घर धान्ने जिम्मेवारीले थिचेपछि तीन छोरीलाई गाउँमै छाडेर उनले परदेशको बाटो समातिन्।
सुविधालाई घरी–घरी उनको नामले नै धोका दिइरह्यो। जिन्दगीका सबै दुःख झेलेकी उनको जीवनमा सुख र सुविधाले कहिल्यै ठाउँ पाएनन्। घरेलु कामदारका रूपमा विदेश पुगेकी सुविधालाई लागेको थियो– अब मैले नै तीन जना छोरीलाई उनीहरूका बुवाले दिने जस्तै सुविधा दिएर हुर्काउनुपर्छ।
तर, त्यहाँ पुगेपछि उनले आफ्नै जस्ता अरूका छोराछोरी हेर्नुपर्यो। त्यसले सन्तानको माया र सम्झना झन् बढायो। अनि उनको मन परदेशमा अड्नै सकेन।
खाडीको गर्मीमा पसिना बेच्न गएकी सुविधा दुई वर्षमै फर्किइन्। त्यसपछि उनी कौवाघारीमा बस्न नसकेर घोराही झरिन्।
...
श्रीमानको हत्यापछि गाउँमा बस्न नसकेपछि मुक्तिनाथकी श्रीमती इन्दिरा पनि काठमाडौं सरिसकेकी थिइन्।
२०६३ सालमा देशमा माओवादीको हिंसात्मक विद्रोह अन्त्य भयो। त्यसले हिंसा, काटमार त अन्त्य गर्यो, तर सुविधा र इन्दिरा जस्ता पीडितको मनभित्रको पीडा जस्ताको तस्तै रह्यो। उनीहरूको न्यायको लडाइँ अहिले पनि बाँकी नै छ। अहिले त्यो लडाइँ उनीहरू एक्लाएक्लै लड्दैछन्।
आफन्त गुमाएका, अंगभंग भएका, जिन्दगीको उर्वर युवा उमेर पीडामा बिताएका र घर—सम्पत्ति गुमाएका कैयौं पीडित छन्, जो न्यायका लागि आ–आफ्नो तह–तहको लडाइँमा छन्।
कमरेड पुष्पकमल, अझै कति ढिलाइ ?
१४ फागुन २०७६ को प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवं तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईले भने– ‘हिजो हामी साथीहरूले दिएको जड्यौरी लुगा, चप्पल लगाएर हिंड्थ्यौं। अहिले कसरी सूटेड–बूटेड भएका छौं ? हाम्रो देखिएको कमाइले त्यो बुकुरो घरबाट यहाँ काठमाडौंमा महल बनाउने हाम्रो हैसियत पुग्दैन।’
कमरेड पुष्पकमल दाहाल, तपाईं आफैं हिजो न्याय र समानताको पक्षमा लड्ने गरेको बताउनुहुन्थ्यो। आज तपाईं न्याय दिने वा दिलाउन सक्ने ठाउँमा हुनुहुन्छ। तर, तपाईं चुपचाप हुनुहुन्छ। पीडितहरू न्यायको खोजीमा छटपटाइरहँदा तपाईं यसरी मौन बस्न मिल्छ?
लमजुङकी इन्दिरालाई अब न्याय पाइएला भन्ने आशा मर्दै गएको छ। गाउँका बालबच्चालाई अक्षर सिकाएर असल मानिस बनाउँछु भनेर लाग्दा ज्यान गुमाएका श्रीमानको आत्माले शान्ति पाउला भन्ने आशा पनि मर्न थालेको छ, उनको। झिनो आशा जीवितै राखेर छोरा सुमन अधिकारी न्यायको लडाइँ लडिरहेका छन्।
उनले आफैं अनेक कष्ट व्यहोरेर द्वन्द्वपीडितलाई संगठित गरे। त्यसबाटै द्वन्द्वपीडित साझा चौतारी नामको संगठनलाई जन्म दिए। द्वन्द्वपीडित महिलाले पनि ४ फागुन २०७६ मा द्वन्द्वपीडित महिलाको राष्ट्रिय संजाल गठन गरेका छन्।
त्यहाँ संगठित भएकाहरूमध्ये कतिलाई आफ्ना श्रीमान किन मारिए ? बाबु किन बेपत्ता पारिए ? आमा किन मानसिक रोगी भइन् ? भन्ने प्रश्नको उत्तर चाहिएको छ।
कमरेड पुष्पकमल, ती मृत्यु वा बेपत्ताको कारण उनीहरूले बुझ्ने भाषामा भनिदिने ल्याकत तपाईंमा भएजस्तो लाग्दैन। द्वन्द्वको अँध्यारो दशकमा महिलाले भोगेका यौनजन्य हिंसा र बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई कहिले कारबाही हुन्छ ? हिजोको विद्रोही समूहको नेतृत्वकर्ता, सत्तारुढ पार्टीको अध्यक्ष र दुई–दुई पटक प्रधानमन्त्री भएको तपाईंले यो प्रश्नको जवाफ दिनुपर्दैन?
डेढ वर्षअघि एक टेलिभिजन कार्यक्रममा तपाईंले भन्नुभएको थियो– “विद्रोहीबाट महिलामाथि बलात्कार भयो भन्ने एउटा पनि घटना छैन। १० वर्षको युद्धकाल र शान्ति प्रक्रिया शुरू भएयताको १२ वर्षमा एउटा पनि घटना मैले सुनेको छैन। बरु अरू घटनाहरू छन्।”
तपाईंले यस्तो दावी गर्दैगर्दा तत्कालीन विद्रोही समूह, माओवादीबाट बलात्कृत भएका दिदीबिहिनीहरूले विक्षिप्त हुँदै भन्नुभएका उहाँहरूका पीडा झल्झली याद आउँछ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गति धेरै धिमा छ। त्यसमा पनि द्वन्द्वमा सहभागी तपाईंलगायत दुवैतिरका नेताहरूको धेरथोर हात छ। पीडितहरूलाई न्याय दिन ढिला गरेर अर्को अन्याय कहिलेसम्म गर्न सक्नुहुन्छ तपाईंहरू?
१० वर्षे युद्ध शान्ति सम्झौतामार्फत सकिएको पनि १४ वर्ष भइसक्यो। न्याय कुरेर बसेका कतिले आफ्नो प्राण त्यागिसके।हजुरआमा, छोरी र नातिनीको तीन पुस्ताले यो विषयमा ‘गम्भीर छु’ भन्ने तपाईंको भाषण मात्र कति सुन्नु?
तपाईं युद्धमा जाँदाको रूप देखेका उनीहरूले तपाईं महलमा बस्न थाल्नुभएको पनि राम्रोसँग देखिसके। अहिले पनि देखिरहेका छन्। तपाईंले चरेसको थालमा मार्सी चामलको भात खाएको देशले देख्यो। तर, ती पीडितहरूले आफ्नै बुकुरोमा पुग्दोगरी बिहान बेलुकीको भात समेत खान पाएका छैनन्।
युद्धबाट आएपछि तपाईंले दुई पटक सरकारको नेतृत्व गर्नुभो। तपाईंहरूको जीवनशैली उत्पात बदलिएको देख्ने समय साक्षी छ। के तपाईं पीडितको जीवनशैली फेरियोस् भन्ने चाहनुहुन्न ? के तपाईं उनीहरूले न्याय पाऊन् भन्ने चाहना राख्नुहुन्न ? अहिले तपाईं अध्यक्ष रहेको पार्टीकै सरकार छ। के मनभरि द्वन्द्वको घाउ बोकेर बाँचिरहेका पीडितले कहिल्यै पनि न्याय नपाउने?
तपाईंले नेतृत्व गर्नुभएको पार्र्टी विस्तृत शान्ति सम्झौता भएपछिका १४ वर्षमा धेरै टुक्रा भयो। कतिले तपाईंको साथ छाडे, कतिले फरक पार्टी खोले। तपाईंले पार्टी नै लिएर नेकपा एमालेसँग एकीकरण गर्नुभो। एकीकरण भने पनि सकिंदै गएको पार्टीको साख जोगाउन एक हिसाबले एमालेमै मिसिनुभो।
तपाईं त चलाखीपूर्वक आफू जोगिने कदम चाल्न सक्नुहुन्छ। तर, पीडितको बारेमा अलिकति पनि सोच्नुहुन्न ? वर्षौं वर्षदेखिको पीडाले कति छियाछिया भएको होला तिनको मन ? तपाईंले आफैं देख्नुभो, तपाईंको छोरा बित्दा तपाईंलाई सान्त्वना दिने र आँसु पुछिदिने धेरै थिए।
तर, तपाईंकै आह्वान र नेतृत्वमा भएको हिंसात्मक विद्रोहमा तपाईंका कार्यकर्ताले सार्वजनिक स्थलमै घाँटी रेटेर, गोली हानेर हत्या गरेका निहत्था नेपालीका शव तपाईं जस्तै ‘कमरेड’हरूको त्रासले कैयौं दिनसम्म नउठाइएका उदाहरण पनि छन्। के तपाईंले यी सबै बिर्सिसक्नुभयो र?
सुविधा र इन्दिराहरूको आँसु पुछ्न धेरै ढिला भइसक्यो कमरेड।