क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीकी आमा भन्छिन् -छोरालाई गाउँ पस्नै नदेऊ भने !
शब्द तथा तस्वीर: कृष्णमाया उपाध्याय / फोटो.सर्कल
सामुदायिक स्वास्थ्य सहायक उत्तम देवकोटा (२८) २२ दिनका लागि जुम्लाको तिला क्वारेन्टिन स्थलमा खटिएका थिए । तर, काम सकेर फर्कने बेला उनका दुई सहकर्मीमा कोभिड-१९ पोजेटिभ देखियो । उनको नतिजा भने नेगेटिभ आयो।
“पीसीआर परीक्षणमा नेगेटिभ नतिजा आएपछि घर जान सुरक्षित छ भन्ने थाहा थियो,” उनी भन्छन्।
एक महीनापछि देवकोटालाई देख्दा चन्दननाथ नगरपालिका- १० का उनका परिवारमा खुशी छायाे । तर, छिमेकीको प्रतिक्रिया भने फरक ।
“छिमेकी म नजिक आउनै अस्वीकार गर्थे । बोल्न पनि हिच्किचाउँथे,” उनी भन्छन्।
छिमेकीको यस्तो व्यवहार उनीप्रति मात्र सीमित थिएन, पूरै परिवारमा थियो।
“मेरो छोरा क्वारेन्टिनस्थलमा खटिएकाले छिमेकीहरुले उसलाई गाउँमा पस्नै नदिनुसम्म भने”, देवकोटाकी आमा विष्णुमाया (६०) गुनासो पोख्छिन् । उनको परिवारप्रतिको अपमान र विभेदले देवकोटा र परिवारका कुनै पनि सदस्यले केही दिनसम्म घर बाहिर निस्कनै सकेनन्।
देवकोटा परिवारले नयाँ घर पनि बनाइरहेका थिए । तर जब उत्तम घर फर्के, कामदार आउन छाडे । “कोरोना सर्छ भनेर कामदार पनि आएनन्, पूरै काम रोकिएको छ,” विष्णुमाया भन्छिन् ।
जुम्लाका विभिन्न क्वारेन्टिनस्थलमा जम्मा १६२ जना स्वास्थ्यकर्मी खटिएका छन् । जस्तोसुकै शर्तमा पनि महामारीमा नागरिकलाई बचाउने अठोट गरेका तिनै स्वास्थ्यकर्मीहरुले भने पलपलमा अनेक चुनौती र लान्छना सामना गर्नु परिरहेको छ।
“हामीलाई कसैले जस पनि दिदैन न काम सजिलो बनाउन सेवा सुविधा नै । उल्टै हामी नै अपमानित र तिरस्कृत हुनु परेको छ”, देवकोटाको दु:खेसो छ।