राष्ट्रिय सभाका समिति सभापतिमा चार जनाको मात्रै उम्मेदवारी
राष्ट्रिय सभाका चार समितिमा सभापति पदका लागि पहिलेकै सभापतिहरू चार जनाको मात्रै उम्मेदवारी परेको छ।
यसअघि आ–आफूले सम्हालेको समितिहरूमा पहिलेकै सभापतिहरूको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्। तर निर्वाचन कार्यतालिका अनुसार भोली सम्बन्धित समितिहरूको बैठकले औपचारिक घोषणा गर्नेछ।
राष्ट्रिय सभाअन्तर्गत चारवटा विषयगत समिति छन्। तर ती समिति सभापतिहरूको पदावधि दुई वर्षको हुने भएकाले निर्वाचन प्रक्रियामार्फत पुन: चयन निर्वाचित गर्नुपर्ने संघीय संसद सचिवालयले जनाएको छ।
यसअघि विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दीगो विकास तथा सुशासन समितिको सभापतिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) रहेकी थिइन्।
भोलि औपचारिक रुपमा निर्वाचित भएसँगै आगामी दुई वर्षका लागि उनीहरू समिति सभापति बन्नेछन्।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताका तोकिएको समयमा उनीहरू चार जनाको मात्र उम्मेदवारी परेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ।