राजीव उपाध्याको पुस्तक ‘कबाल्स एण्ड कार्टेल्स' सार्वजनिक
विकास साझेदार विश्व ब्यांकको नेपाल कार्यालयमा लामो समय काम गरेका पूर्व पत्रकार राजीव उपाध्याको पुस्तक ‘कबाल्स एण्ड कार्टेल्स: एन अप क्लोज लुक एट नेपाल्स टर्बुलेन्ट ट्रान्जिसन एण्ड डिस्रप्टेड डेभलपमेन्ट’ सार्वजनिक भएको छ। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
२०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चातको अर्थ–राजनीतिमा आधारित पुस्तकमा नेपालको राजनीतिक–व्यवसायिक अपवित्र सम्बन्धमार्फत कसरी राज्य–दोहन गरियो र सुधारको गतिलाई अवरुद्ध गरियो भन्ने विषयलाई केन्द्रमा राखेर चर्चा गरिएको छ।
शक्तिशाली बहुपक्षीय ऋणदाता विश्वब्यांकमा दुई दशकभन्दा लामो समय काम गर्दा उपाध्याले नेपालका राजनीतिज्ञ र कर्मचारीतन्त्रको नेतृत्वलाई गहिरोसँग अवलोकन गर्ने मौका पाएका थिए।
त्यो अनुभवले उनको तर्कलाई बलियो बनाउन सघाएको छ। माओवादी द्धन्द्धकाल र संक्रमणकालमा नेपालको विकास प्रकृया कसरी अवरुद्ध भयो र त्यसका कारणहरू के थिए भन्ने विषयमा पनि पुस्तकले छलफल गरेको छ। पुस्तकले नेपालका भूमिगत गिरोह र मिलेमतोमा राज्यशक्तिलाई नियन्त्रण गर्ने अभ्यासको बारेमा कयौं सन्दर्भ उल्लेख गरेको छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अर्थशास्त्री डा. विश्व पौडेलले वितेका दुई शताब्दीदेखि नै नेपालमा उत्पादनको साधनलाई सीमित व्यक्तिले कब्जा गरेको बताए। उनले क्षमतावान व्यक्ति नहुँदा नेपालको विकास प्रकृयाले गति नसमातेको र दाताका कार्यक्रमले समेत प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे।
कार्यक्रमका अर्का वक्ता हिमा विष्टले यो पुस्तक बितेका तीन दशकको नेपालको अर्थराजनीति र विकास प्रकृयालाई चिहाउने आँखिझ्याल भएको बताइन्। पत्रकार किशोर नेपालले पुस्तकले द्धन्द्धकालीन समाजको मनोदशा र अवस्था देखाएको बताए।
फाइनप्रिन्टले प्रकाशन गरेको २८२ पृष्ठको अंग्रेजी भाषाको पुस्तक बिहीबारबाटै बजारमा उपलब्ध भएको छ।