प्रदेश-२ का मन्त्रीलाई कोभिड-१९ पुष्टि, प्रधानमन्त्री र गृहमन्त्री पनि ‘रिस्क जोन’मा
प्रदेश-२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री, गृहमन्त्री र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले समेत पीसीआर परीक्षण गर्नुपर्ने भएको छ।
१४ साउनको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा मन्त्री यादवसँगै प्रधानमन्त्री र गृहमन्त्री समेत सहभागी भएकाले परीक्षण गराउनुपर्ने भएको हो। उक्त बैठकमा सहभागी भएका मन्त्री यादवलाई १९ साउनमा कोरोना पुष्टि भएको थियो।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा तथा प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु सहभागी थिए। बैठकपछि सँगै खिचेको तस्वीरमा पनि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार, दुरी कायम देखिँदैन भने मास्क समेत कसैले लगाएका छैनन्।
इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम पाण्डेका अनुसार, संक्रमित व्यक्तिहरुको ‘क्लोज कन्ट्याक्ट’ अर्थात् सीधा सम्पर्कमा रहेका व्यक्तिहरुले परीक्षण गराउनुपर्छ। उनले हिमालसँग भने, “बन्द कोठामा, १५ मिनेट भन्दा बढी, फेस टु फेस, मास्क नलगाइ बसेको र बोलेको तथा खोक्ने, हाछ्युँ गर्ने समेत गरेमा झन् रिस्क हुन्छ।”
यसैबीच, प्रदेश १ का हिक्मत कार्कीले आफूले आजै पीसीआर परीक्षण गर्न लागेको बताए। उनले भने, “सँगै बैठकमा बसेकाले आफू र आफूसँगै रहेका सुरक्षाकर्मी र सचिवालयका कर्मचारीहरुको जाँच गर्दैछौं।”
बैठकमा सहभागी गण्डकी प्रदेशका आन्तरिका मामिला मन्त्री हरिबहादुर चुमानले पनि भोलि पीसीआर जाँच गराउने भएका छन् ।
मन्त्रालयका प्रवक्ता काशीराम गैरेले भने, “मन्त्रीज्यूसँग कुरा भइसकेको छ, पहिला उहाँ र उहाँका नजिकमा रहेकाहरुले जाँच गराउनुहुन्छ र उहाँको रिपोर्टको आधारमा अन्य कर्मचारीहरुको जाँच गर्ने नगर्ने थाहा हुन्छ ।”