राष्ट्रिय सभाका समिति सभापतिमा पुरानै चार जनाको मनोनयन दर्ता
राष्ट्रिय सभाको चार समितिमा सभापति पदको लागि अहिलेसम्म पुरानै चार जनाको मनोनयन दर्ता भएको छ। यसअघि सभापति रहेकाहरु सोही समितिको सभापतिमा मनोनयन दर्ता भएको राष्ट्रियसभा सचिवालयले जनाएको छ।
जसअनुसार, विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्रस्तावकमा देवेन्द्र दाहाल र समर्थकमा तारामान स्वाँर रहेका छन्। यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीको उम्मेदवारी परेको छ।
बिडारीको प्रस्तावकमा राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुवँर रहेका छन्। यसैगरी दीगो विकास तथा सशुासन समितिको सभापतिका लागि तारादेवी भट्टको उम्मेदवारी परेको छ।
उनको दिनानाथ शर्मा प्रस्तावक छन् भने रमेशजंग रायमाझीले समर्थन गरेका छन्। यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) को उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा खिमलाल भट्टराई रहेका छन् भने समर्थकमा अनिता देवकोटा छ।
हरेक दुई वर्षमा समिति सभापति पुन चयन गर्नुपर्ने प्रावधानका कारण संसद सचिवालयले निर्वाचन प्रक्रिया अघि बढाएको हो। निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकिएको छ।
निर्धारित समय भित्र मनोनयन दर्ता गरेका उम्मेदवारहरुको सुची आजै दिउँसो साढे ४ बजे नामावली प्रकाशित हुँदैछ। ती उम्मेदवारहरुको नामावली सम्बन्धित समितिको सूचना कक्षमा सूचना टाँस गरिने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले अहिले (साढे १२ बजे) सम्म चार वटै समितिमा एक/एक जनाको मनोनयन दर्ता भएको बताए। भोलि सम्बन्धित समितिले सभापतिको चयन गर्ने निर्वाचन कार्यतालिका छ।
नेकपा र नेपाली कांगेसबीच पुरानै सभापतिहरुलाई फेरि एक कार्यकाल दिने सहमति भएकाले पुरानै सभापतिहरु पुन निर्वाचित हुने संभावना छ।