ओली–दाहाल भेटवार्ता पनि अनिश्चित
सत्तारुढ नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको भेटवार्ता अनिश्चित बनेको छ। बुधबार तय भएको छलफल अकस्मात स्थगित गरिएको थियो।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत् भेटवार्ता स्थगित भएको र आज बिहान बस्ने जानकारी दिएका थिए। तर, आज बिहान छलफल हुन सकेन। थापाले भने, “आज बस्ने भनिएपनि छलफल बस्ने निश्चित छैन।”
बुधबार चार नेता (पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ) ले पत्रकारहरुसँग भेटवार्ता राखेपछि छलफल अनिश्चित बनेको एक नेताले बताए। प्रधानमन्त्री निकट ती नेताले भने, “परिस्थिति बिगार्नेगरी उहाँहरु पत्रकार सम्मेलन गर्दै हिडेपछि जटिलता आयो।”
अर्का, अध्यक्ष दाहाल निकट नेताले भने सहमति खोज्ने प्रयास नरोकिएको बताए। गएको १३ साउनदेखि स्थायी कमिटी बैठक अनिश्चित बनेपछि १८ साउन यता लगातार तीन दिन दुई अध्यक्ष बीच छलफल भएको थियो।
दाहालका तर्फबाट बरिष्ठ नेता झलनाथ खनाल र ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी हुँदै आएका थिए।