दाहाल–नेपाल समूहको मूड: पार्टी विभाजन गर्न खोजे ओलीलाई नरोक्ने !
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ लागेको आरोप लगाउँदै त्यसका लागि तयार रहेको संकेत गरेका छन्।
पार्टीभित्रको विवाद उत्कृर्षमा पुगेका बेला १३ साउनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चित बनेको छ। १८ साउनदेखि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भइरहेको छलफल समेत निष्कर्षमा पुग्न सकेको छैन।
तर, दुवै समूहले आफूनिकट रहेकाहरुसँग छलफल अघि बढाइरहेका छन्। बुधबार दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले पत्रकारसँग अनौपचारिक कार्यक्रम नै राखे।
चार नेताको एक स्वरः ओलीले पार्टी निर्णय मानेनन्
विभिन्न मञ्चमा सँगै देखिन थालेका दाहाल र नेपाल बुधबार अन्य नेताहरुसहित उपस्थित थिए। नेकपाको रिपोर्टिङ गर्ने पत्रकारहरुसँग अनौपचारिक छलफल भनेर राखिएको कार्यक्रममा दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आ–आफ्ना कुरा राखे। स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र रघुजी पन्त समेत सामेल कार्यक्रममा नेताहरुको अभिव्यक्ति भने समान थियो– प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई अब धेरै फकाउन सकिन्न।
गएको ४ मंसीर २०७६ को सहमति र त्यसपछि गत २० वैशाखमा भएको सहमति समेत पार्टीमा पालना नहुँदा विवाद बढेर गएको प्रवक्ता श्रेष्ठले त्यसक्रममा बताए। “एकतालाई बलियो बनाउनकै निम्ति नेताहरुले पद त्याग गर्न पनि सक्छन् भन्ने सन्देश दिनेगरी भएको सहमति समेत पालना भएन”, उद्घाटन मन्तव्य राख्दै श्रेष्ठले भनेका थिए।
त्यसपछि बोलेका नेता नेपालले पनि पार्टीलाई विधि र प्रणालीमा चलाउन आफूहरु लागिपरेको तर, निकै कठिन बनिरहेको बताए। “अहिले पनि हाम्रा दुई नेताहरु (दाहाल र खनाल) साँझ–बिहान बालुवाटार धाइरहनुभएको छ। तर, ‘मै राज्य हुँ, मै पार्टी हुँ’ भनेपछि कुरा मिल्न सकिरहेको छैन”, उनले भने। पार्टीको विधानको धारा ६० मा बहुमतको निर्णय पार्टी निर्णय हुने भनेर प्रष्ट लेखिएको सम्झाउँदै नेपालले भने, “एउटाले गरेको निर्णयको सवै नेताले अपनत्व लिनुपर्ने अवस्थाले पार्टी बलियो हुँदैन।”
दाहाल र ओली मिल्दा आफूले ‘नोट अफ डिसेन्ट’ लेखेको स्मरण गर्दै नेपालले भने, “कमिटीमा बहुमतबाट निर्णय हुँदा अध्यक्ष पनि अल्पमतमा परे भने ‘नोट अफ डिसेन्ट’ लेख्नुपर्छ।” तर, विधि र पद्धतिमा पार्टी नचलेकाले एकता प्रक्रिया समेत लम्बिदै गएको उनले बताए।
वरिष्ठ नेता खनालले पार्टीको विधान पालना नगर्ने, बैठक नै नराख्ने र आफू विरोधीलाई तह लगाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा देखिएको दाबी गरे। “ओली कमरेड अध्यक्ष रहेको मदन भण्डारी फाउण्डेसनलाई अहिले तलसम्म सक्रिय बनाइएको छ। त्यसैलाई अर्को पार्टीको रुप दिने तयारी भइरहेको छ”, खनालले भने। उनले पार्टी निर्णय सबैले मान्नुपर्ने पनि बताए र प्रश्न गरे, “स्थायी कमिटीमा रहेका नेताहरुलाई हुल्लडबाज र केन्द्रीय सदस्यहरुलाई सडक छापको संज्ञा दिएपछि पार्टी कसरी रहन्छ?”
नेता खनालले अनौपचारिक भनिएको यस्तै कार्यक्रमले अब निरन्तरता पाउने समेत बताए। दाहालको दायाँतर्फ बसेका खनालले भने, “यो थालनी मात्रै हो, अब यस्ता छलफल भइरहन्छन्।”
खनालको भनाइमा दाहालले पनि सहमति जनाए। ४० मिनेट बोलेका दाहाल पूरा समय पार्टी विवादमै केन्द्रित भएका थिए। उनले पार्टी एकतालाई बलियो बनाउनकै लागि आफूले आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति छाडेको बताए। तर, अझै पनि पदकै बार्गेनिङ गरिरहेको प्रचार गराउनतिर प्रधानमन्त्री ओली लागेकाले आफूहरुले मुख खोलेको उनको भनाई थियो।
नेकपा गठन हुँदा तत्कालीन एमाले र माओवादीबीच भएको एकतालाई सुदृढ बनाउन खोज्दा आफूले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको अपमान सहनुपरेको गुनासो समेत दाहालले गरे। पार्टीको छबि धुमिल हुनेगरी सरकारले एकलौटी निर्णय गर्दै जानु र अध्यक्षले नै पार्टीको निर्णय मान्दिन भन्नु एकता बचाउने कुरा नभएको दाहालको भनाई थियो। पार्टी एकतालाई भर्याङ बनाउने काम भएको उल्लेख गर्दै उनले थपे, “कसैले पार्टी एकतालाई भर्याङ बनाउनु हुँदैन। अब माथि आइहालियो, यसलाई फालिदिऊँ भनेर सोच्ने कि पार्टी एकतालाई अझ सुदृढ बनाउने?”
मन्तव्य राख्ने क्रममा दाहालले अन्त्यमा आफूहरु अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन लागिपर्ने बताए। तर, प्रधानमन्त्री ओलीले आफैं पार्टी विभाजन गरे तयार हुने संकेत समेत उनले गरे। “खतरा जुनसुकै बेला आउन सक्छ। त्यसका लागि तयार हुनुपर्छ। तर, हाम्रो तर्फबाट भने त्यस्तो हुँदैन”, दाहालले भने।
त्यसक्रममा दाहालले एमाले नामको पार्टी दर्ता गराउने, स्थायी कमिटी सदस्य रहेकै नेता गएर मदन भण्डारी फाउण्डेसनका नाममा जबज (जनताको बहुदलीय जनवाद) को ब्यानर टाँग्ने र पार्टीकै नेताहरुलाई दलाल भन्दै देशभर जुलुस निकाल्न लगाएर प्रधानमन्त्री ओली विभाजनको पक्षमा देखिएको आरोपसमेत लगाए।
नेकपामा चुलिएको शक्ति संघर्ष मत्थर पार्ने प्रयासस्वरुप बुधबार ओली र दाहालबीच भेट हुने तय भएको थियो। तर, अपराह्न त्यो भेट पनि स्थगित भयो। प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको महामारीविरुद्ध लड्ने थप रणनीति तय गर्न बोलाइएको सर्वपक्षीय छलफलमा पटक पटक आफ्नै पार्टीका नेताहरुलाई कटाक्ष गरेका थिए।