कोरोना अपडेट: काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक १०७ जना नयाँ संक्रमित, किन बढ्यो संक्रमण ?
काठमाडौं उपत्याकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित देखा परेका छन्। बुधबार साँझ ७ बजेसम्म ईपीडीमीयोलोजीतथा रोग नियन्त्रण महाशाखा (ईसीडीसी)ले उपलब्ध गराएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा एकैदिन १०७ जना संक्रमित फेला परेका छन्।
अहिलेसम्म उपत्यकामा एकै पटक यति ठुलो संख्यामा कोरोना संक्रमित भेटिएका थिएनन्। ईसीडीसीका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा काठमाडौं उपत्यकाको कोरोना केस म्यानेजमेन्ट समितिका संयोजक उत्तम कोइरालाले हिमालखबरसँग कुरा गर्दै उपत्यकामा एकै दिन १०७ जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका हुन्।
दिउँसोसम्म थिए ६२ जना मात्रै संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार नियमित प्रेस ब्रिफिङमार्फत देशैभर पछिल्लो २४ घण्टामा ३८१ जना नयाँ संक्रमित थपिएका र त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र ६२ जना नयाँ संक्रमित थपिएका जानकारी दिएको थियो।
उक्त तथ्यांक स्वास्थ्य मन्त्रालयलाई विभिन्न प्रदेशहरूमार्फत बुधवार दिउँसो २ बजेसम्म प्राप्त भएको हो। साँझसम्म देशैभर कोरोना संक्रमितको संख्या बढेको छ, जुन भोलिको प्रेस ब्रिफिङमा मात्रै अवगत गराइन्छ।
सात वटै प्रदेश मार्फत आउने उक्त तथ्यांक ईपीडीमीयोलोजीतथा रोग नियन्त्रण महाशाखा(ईसीडीसी) र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाहुँदै स्वास्थ्य मन्त्रालय पुग्छ।
ईडीसीडीको तथ्यांकअनुसार, काठमाडौं उपत्यकामा २० साउनमा ६९ जना, १९ साउनमा ६२ जना, १८ साउनमा ३६ जना र १७ साउनमा ६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए।
यो तथ्यांकले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको र बुधबार सबैभन्दा धेरै संक्रमित भेटिएको देखाउँछ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरु बढ्नुको कारण के हो त ?
ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाका अनुसार संक्रमणको मुल कारण प्रदेश-२ र भारतबाट भित्रिएका कोरोना संक्रमित हुन्।
उनीहरुलाई नाकाबाट सजिलै परीक्षण र निगरानी बिना काठमाडौं भित्रिन दिएका कारण कोरोना संक्रमण परिवारका सदस्यलाई सरेको र संक्रमण दर बढेको हो।
ईडीसीडीका अनुसार अहिलेसम्म प्रदेश-२ र भारतबाट नाका हुँदै भित्रिएका व्यक्तिले काठमाडौंमा रहेका आफ्नो परिवारका सदस्यलाई कोरोना सारेको भेटिएको छ।
यसरी बाहिरबाट आएकाहरूबाट कोरोना संक्रमण हुने परिवारको संख्या १० भन्दा बढी पुगिसकेको छ।
वीरगञ्जबाट एक हप्ताअघि काठमाडौं आएका एक व्यक्तिबाट काठमाडौंमा रहेको उनको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण फैलिएको छ।
ईसीडीसीको २१ साउनसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्याकामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिसकेको छैन। “तर सरकारले उपत्यका बाहिरबाट आउनेलाई नाकामा कडाई वा बन्दाबन्दी नगर्ने हो भने आउँने एक हप्ताभित्र उपत्यकामा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिन सक्छ,” काठमाडौं उपत्यकाको कोरोना केस म्यानेजमेन्ट समितिका संयोजक उत्तम कोइराला भन्छन्, “समुदायमा संक्रमण फैलिन उपत्यकामा कोरोना बमहरू बनिसकेका छन्। अब बिस्फोट हुन मात्र बाँकी छ।”
त्यसो भए समाधानको उपाय के ?
कोइरालाले सरकारले काठमाडौं उपत्यकाका नाकाबाट अत्यावश्यक बाहेकको काममा भित्रिन नदिने, अत्यावश्यक काममा भित्रिनेहरूको कडा निगरानी गर्ने वा बन्दाबन्दी नै उत्तम उपाय भएको बताएका छन्।
उनी उपत्याका भित्रिने नाकामा कडाई गर्न सरकारले सुरक्षाकर्मी परिचालन गर्नुपर्ने र उनीहरुमार्फत निगरानी र परीक्षणको काम गर्न सकिने बताउँछन्। “परिस्थिति बिग्रनु अगावै कदम नचाल्ने हो भने अवस्था भयावह बन्छ,” उनी भन्छन्।