क्यान्सरको औषधि लौठसल्लामा विज्ञहरुकै 'लपनछपन'
‘नेपालको लौठसल्ला’ पुस्तक अनुसार मकवानपुर, ललितपुर, सिन्धुली, काभ्रे जिल्लामा लौठसल्लाको ट्याक्सस् माइरेई प्रजाति पाइन्छ। यही प्रजातिको पात क्यान्सर रोग उपचारको औषधि निर्माणमा प्रयोग हुन्छ । र, यसैका लागि झण्डै तीनचार दशकदेखि नेपालबाट निर्यात भइरहेको छ ।
हालैमात्र एक वनस्पतिविद् मित्रले यो पंक्तिकारलाई टेलिफोन गरे। खिसिटिउरी शैलीमा कुराकानी थालेका उनले लौठसल्ला वनस्पतिको एक प्रजाति ट्याक्सस् माइरेईबारे सञ्चारमाध्यमहरुमा मेरा केही लेख पढेका रहेछन्।
“तपाईंले ट्याक्सस् माइरेई नेपालमा पाइएको, क्यान्सर उपचारमा प्रयोग हुने तत्वका कारण यसको पात र डाँठको व्यापार हुने गरेको समेत लेख्नुभएको थियो । तर, यहाँ त नेपालमा त यो लौठसल्ला नै नभएको कुरा पो गरियो त ?”, ती मित्रले कुराकानीको चुरो खुलाए।
पछि बुझ्दा थाहा भयो । गएको ६–७ फेब्रुअरीमा विराटनगरमा ‘इन्टिग्रेटेड बायोलोजिक रिसोर्सेज फर प्रोस्पेरिटी’ विषयमा दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको रहेछ । सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्लान्ट डाइभर्सिटी इन् नेपाल पुस्तक पनि लोकार्पण गरेछन्।
वनस्पति समाज नेपालद्वारा प्रकाशित अनि वनस्पतिविद्हरु मोहन शिवाकोटी, प्रमोदकुमार झा, संगीता राजभण्डारी र सञ्जीवकुमार राई सम्पादित पुस्तकमा ‘जिम्नोस्र्पम्स अफ नेपालः स्टेट्स एण्ड डिस्ट्रिब्युसन’ शीर्षकमा महत्वपूर्ण लेख छापिएको रहेछ।
वरिष्ठ वनस्पतिविद् केशवराज राजभण्डारी, लज्मिना जोशी, सुभाष खत्री, रिता क्षेत्री लिखित यो लेखमा ‘नेपालमा पाइएको भनिएको ट्याक्सस् माइरेई नभई ट्याक्सस् वालिचियना भेराइटी माइरेई भएको भएको जनाइएको छ । ती मित्रले उक्त पुस्तक पढेका रहेछन्।
विश्वभर लौठसल्लाका १२ प्रजाति छन् । तीमध्ये नेपालमा ट्याक्सस् वालिचियना, ट्याक्सस् कन्टोर्टा र ट्याक्सस् माइरेई पाइने सरकारी दस्तावेजमै उल्लेख छ।
२५ असोज, २०७१ मा चौथोपटक संशोधित ‘वन नियमावली–२०५१’ मा र तीन वर्षअघि मात्र सन् २०१७ मा ललितपुर, गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाले प्रकाशित गरेको ‘नेपालको लौठसल्ला’ पुस्तकमा मकवानपुर, ललितपुर, सिन्धुली, काभ्रे जिल्लामा लौठसल्लाको ट्याक्सस् माइरेई प्रजाति पाइएको जनाइएको छ।
वनस्पतिविद्हरु लौठसल्लाको यो प्रजातिलाई लिएर किन फरक मत ? के हो यसको अन्तर्य ? के हो सत्य ? यसबारे थप बहस अनि सूक्ष्म विश्लेषण हुन अत्यावश्यक देखिन्छ।
बहसको आवश्यकता किन पनि भने, लौठसल्लाको यही प्रजातिको पात क्यान्सर रोग उपचारको औषधि निर्माणमा प्रयोग हुन्छ । र, यसैका लागि झण्डै तीन\चार दशकदेखि नेपालबाट यसको निर्यात भइरहेको छ । अर्थात् यो केवल एक वनस्पति प्रजाति मात्र होइन, नेपालीकै आम्दानीकै स्रोत हो।
क्यान्सरविरुद्धको औषधि
गएको ४ साउनमा यो पंक्तिकारको भेट भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रसँग भयो । मिश्रले नगरपालिकाका विभिन्न सामुदायिक वनमा २० हजार लौठसल्ला रोपिएको सुनाए।
नगरप्रमुखले थप जानकारी दिन जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामकृष्ण केसीलाई पनि नगरपालिकाको कार्यालयमा डाके । लौठसल्ला बारे राम्रै जानकारी राखेका केसीले सामुदायिक वनहरुमा लौठसल्लाको ट्याक्सस् माइरेई प्रजाति लगाइएको र यो प्रजाति लमजुङ, गोरखा, खोटाङलगायत अन्य पूर्वी जिल्लामा पनि पाइने दाबी गरे।
पाठेघर, स्तन, फोक्सो लगायतका क्यान्सर उपचारमा प्रयोग हुने औषधि बनाउन लौठसल्लाको वैज्ञानिक प्रयोग सन् १९८२ बाटै हुन थालेको देखिन्छ, जसमध्ये पनि ट्याक्सस् माइरेई सबैभन्दा उपयुक्त मानिन्छ । माइरेईको पात तथा ससाना डाँठ (मुन्टा)को प्रति केजी मूल्य वालिचियना र कन्टोर्टाको तुलनामा बढी छ।
सिन्धुलीस्थित लालीगुराँस सामुदायिक वनका अध्यक्ष डम्बरविक्रम बस्नेत २०५५ सालतिरै वनमा करीब २५ हजार लौठसल्लाको बिरुवा रोपिएको र अझसम्म पनि प्रतिवर्ष ३५ सय केजी जति लौठसल्ला निकासी भइरहेको बताउँछन्।
केसी ललितपुर, सिन्धुली, काभ्रे, दोलखा, रामेछाप, मकवानपुर र धादिङबाट ट्याक्सस् माइरेई वर्षमा झण्डै १५० टन निकासी हुँदै आएको छ । सबैभन्दा बढी निकासी ४० टन जति ललितपुरबाटै निर्यात हुन्छ । ट्याक्सस् माइरेई प्रतिकेजी रु.२०० देखि २७० सम्ममा कारोबार हुनेगरेको छ।
एक आकडा अनुसार मध्य नेपालमा वार्षिक झण्डै १ लाख ट्याक्सस् माइरेईको बेर्ना रोपिने गरिएको छ । किनभने माइरेई प्रजाति वालिचियना र कन्टोर्टाभन्दा निकै कम अर्थात् समुद्रदेखि १५००–२००० मिटरको भूसतहमा पनि प्राकृतिक रुपमा पाइन्छ, जहाँ मानिस समेत आरामले बस्न सक्छन्।
गैरसरकारी संस्था ग्रीनहूड नेपालले मकवानपुर र सिन्धुलीमा ट्याक्सस् माइरेई बारे स्थलगत अध्ययन गरी ‘लौठसल्ला दिगो संकलन निर्देशिका’को मस्यौदा तयार गरेको छ । मस्यौदामा लौठसल्लाको बेर्ना उत्पादन, संकलन र बिक्रीका तरिका सचित्र व्याख्या गरिएको छ । किसानले आफ्नो जग्गामा रहेको लौठसल्ला व्यापारीलाई भाडामा पनि दिने गरेको मस्यौदा पढे थाहा पाइन्छ।
नेपालमा लौठसल्ला
नेपालमा लौठसल्ला छ भनेर विश्वका वैज्ञानिकहरुलाई जानकारी दिने व्यक्ति डेनिस वनस्पतिविद् नाथानियल वालिच हुन्। वालिचले यसको नमूना काठमाडौंको शिवपुरीबाट सन् १८२०–२१ ताका संकलन गरेका थिए।
वालिचले यसको वैज्ञानिक नाम ट्याक्सस् नुसिफेरा राखे, जसको विवरण सन् १८२६ मा प्रकाशित ‘टेन्टामेन फ्लोरा नेपालेन्सिस् खण्ड–२’ पुस्तकमा छापियो । तर, कार्ल लिन्नियसले सन् १७५३ मै लेखेको ‘स्पेसिस् प्लान्टारम’ पुस्तकमा अर्कै सल्लोको वैज्ञानिक नाम ट्याक्सस् नुसिफेरा राखिसकेका थिए।
जर्मन वनस्पतिविद् जोसेफ जे. जुक्कारिनीले कार्ल लिन्नियस र नाथानियल वालिचले नामकरण गरेका दुवै ट्याक्सस् नुसिफेराको नमूना अध्ययन गरे । र, सन् १८४३ मा वालिच संकलित नमूनालाई वालिचकै सम्मानमा ट्याक्सस् वालिचियना र लिन्नियसको नमूनालाई सन् १८४६ मा टोर्रेया नुसिफेरा नामकरण गरे । यी दुवै वैज्ञानिक नाम त्यस उप्रान्त सही मानिएको छ।
बेलायतका जेडीए स्टेन्टन र एलएचजे विलियम्सले सन् १९५४ मा मुस्ताङमा लौठसल्लाको अर्को प्रजाति ट्याक्सस् कन्टोर्टा संकलन गरे । त्यसको नमूना न्याचुरल हिष्ट्री म्युजियम लन्डन र रोयल बोटानिकल गार्डेन, स्कटल्याण्डमा संग्रह छ।
तर, न्याचुरल हिष्ट्री म्युजियम लन्डनले सन् १९७८ मा प्रकाशन गरेको ‘एन् इनुमेरेसन अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल’ भोल्युम १’ मा नेपालमा पाइने लौठसल्लाको वैज्ञानिक नाम ट्याक्सस् बाकाटा भएको र यसको एक उप–प्रजाति वालिचियना नेपालमा पाइन्छ भनी लेखियो । ट्याक्सस् कन्टोर्टाको उल्लेखसम्म पनि गरिएन।
ट्याक्सस् वालिचियनामा विद्यावारिधि गरेका ज्योतिप्रसाद गजुरेलले सन् २०१६ मा ‘नोट्स अन एनाटोमी एण्ड मर्फोलोजी अफ ट्याक्सस् माइरेई (कल्टिभेटेड युउ) फ्रम नेपाल’ शीर्षकको लेख छापियो, जसमा भने रोपिएको अवस्थामा बाहेक ट्याक्सस् माइरेई नेपालको प्राकृतिक वनमा नपाइने तर्क गरियो। तर, सन् २०१७ मा ललितपुरस्थित हर्बारियमले प्रकाशित गरेको ‘नेपालको लौठसल्ला’ पुस्तकले ललितपुर, काठमाडौं, मकवानपुर, सिन्धुली, काभ्रे र दोलखामा ट्याक्सस् माइरेई पाइएको तथ्य प्रकाशन गर्यो।
यी लेखकहरुले यूरोप, उत्तर अफ्रिका र एसियामा इरानसम्म मात्र फैलिएको ट्याक्सस् बाकाटाको एक उप–प्रजाति नेपालमा पाइन्छ भनेर लेख्नु नै ठूलो गल्ती थियो।
यही गल्ती पछ्याउँदै दशकौंसम्म ‘वन नियमावली २०५१’ मा नेपालमा पाइने लौठसल्लाको नाम ट्याक्सस् बाकाटा लेखियो । र, वन विभागले देशमै नभएको लौठसल्लालाई ट्याक्सस् बाकाटाका नाममा निकासीको अनुमति दिने गर्थ्याे।
वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गतको तत्कालीन डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्टले सन् १९८६ ‘फ्लोरा अफ काठमाडौं भ्याली’ पुस्तक प्रकाशन गर्यो । पुस्तकमा नेपालमा पाइने लौठसल्लालाई ट्याक्सस् वालिचियना लेखियो।
ली नानले सन् १९९७ मा ‘नोट्स अन जिम्नोस्पर्मस् फर्स्ट: ट्याक्सोनोमिक ट्रिटमेन्ट्स अफ सम चाइनिज कोनिफर्स’ शीर्षकको लेखमा पश्चिम नेपालमा लौठसल्लोका ट्याक्सस् फुवना प्रजाति पाइने जानकारी दिए । सन् १९९७ मै प्रकाशित ‘फ्लोरा अफ चाइना भोल्युम ४’ मा पनि लौठसल्लाबारे यही कुरा समावेश छ।
न्याचुरल हिष्ट्री म्युजियम लन्डन र केन्द्रीय वनस्पति विभाग, त्रिभुवन विश्वविद्यालयले सन् २००० मा प्रकाशन गरेको ‘एन्नोटेटेड चेकलिष्ट अफ फ्लावरिङ प्लान्टस् अफ नेपाल’ पुस्तकमा पनि ट्याक्सस् फुवनालाई नै मान्यता दिइयो।
तर, रिचर्ड डब्लु. स्पिज्टले सन् २००७ मा ‘ट्याक्सोनोमी एण्ड नोमेन्क्लेचर अफ ट्याक्सस् (ट्याक्सासी)’ लेखमा ट्याक्सस् फुवना कुनै नयाँ प्रजाति नभई सन् १८५४ मै पत्ता लागेको ट्याक्सस् कन्टोर्टा नै हो भन्ने तर्क गरे।
सन् २०१० मा गोदावरीस्थित राष्ट्रिय प्रयोगशालाले ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् – १’ प्रकाशित गर्दै पश्चिम नेपालमा पाइने सल्लो लौठसल्ला ट्याक्सस् फुवना नभई ट्याक्सस् कन्टोर्टा नै भएको बतायो।
सन् २०१२ मा नेपालका लौठसल्लाबारे रामचन्द्र पौडेल नेतृत्वको टोलीले छपाएको एक लेखमा काभ्रेमा ट्याक्सस् माइरेई पाइएको दाबी गरियो । नेपालमा ट्याक्सस् माइरेई भेटिएको यो नै पहिलो वैज्ञानिक लेख थियो।
त्यसको दुई वर्षपछि वन मन्त्रालयले नेपालका लौठसल्लाका प्रजातिहरु र तिनको भौगोलिक विस्तार यकिन गर्न सहसचिव खेमराज भट्टराईको संयोजकत्वमा सुरेशकुमार घिमिरे, बद्रीबहादुर कार्की, गंगादत्त भट्ट र रामचन्द्र पौडेल सम्मिलित कार्यदल गठन गर्यो।
कार्यदलले नेपालमा लौठसल्लाका तीन प्रजाति ट्याक्सस् कन्टोर्टा, ट्याक्सस् माइरेई र ट्याक्सस् वालिचियना पाइएको प्रतिवेदन प्रस्तुत गर्यो । त्यही वर्ष ‘वन नियमावली–२०५१’ चौथो संशोधन गरियो, जसमा लौठसल्लाका तीनै प्रजातिलाई थप आधिकारिकता दिइयो।
तर, सन् २०१५ मा गोदावरीस्थित राष्ट्रिय प्रयोगशालाले आफ्नो क्याटलगमा नेपालको प्राकृतिक वनमा ट्याक्सस् माइरेई नपाइएको बरु बाहिरैबाट ल्याएर रोपिएको (कल्टिभेटेड) जनाउ दिने गरी ‘आस्टरिस्क’ संकेत प्रयोग गर्यो।
ट्याक्सस् वालिचियनामा विद्यावारिधि गरेका ज्योतिप्रसाद गजुरेलले सन् २०१६ मा ‘नोट्स अन एनाटोमी एण्ड मर्फोलोजी अफ ट्याक्सस् माइरेई (कल्टिभेटेड युउ) फ्रम नेपाल’ शीर्षकको लेख छापियो, जसमा भने रोपिएको अवस्थामा बाहेक ट्याक्सस् माइरेई नेपालको प्राकृतिक वनमा नपाइने तर्क गरियो। तर, सन् २०१७ मा ललितपुरस्थित हर्बारियमले प्रकाशित गरेको ‘नेपालको लौठसल्ला’ पुस्तकले ललितपुर, काठमाडौं, मकवानपुर, सिन्धुली, काभ्रे र दोलखामा ट्याक्सस् माइरेई पाइएको तथ्य प्रकाशन गर्यो ।
ट्याक्सस् माइरेई बारे विज्ञ र सरकारी निकायबाटै ‘विरोधाभाषपूर्ण तथ्य’ सार्वजनिक गर्ने यो क्रम चलिरहेको छ । विराटनगरमा सार्वजनिक पुस्तकमा संग्रहित लेख यसैको पछिल्लो उपक्रम देखिन्छ।
पहिलोपटक नेपालमै भेटिएको थियो माइरेई
प्रकाशित जानकारीहरु अनुसार ट्याक्सस् माइरेई वनस्पतिको नमूना सर्वप्रथम डब्लू.आर. प्राइसले सन् १९१२ मा चीनबाट संकलन गरेका थिए । सन् १९१४ मा यसको नाम सुगा माइरेई राखियो।
सुगा जाति अन्तर्गतका कुनै पनि प्रजातिको चरित्र सुगा जातिसँग मिल्नु पर्छ । तर, सुगा माइरेईको विवरण सुगा जातिसँग मेल खाएन।
सन् १९६० मा यसलाई सुगा जातिबाट ट्याक्सस् जातिमा स्थानान्तरण गरियो र नाम दिइयो– ट्याक्सस् माइरेई । तर, चिनियाँहरुले नै सन् १९९७ मा यसलाई ट्याक्सस् वालिचियना भेराइटी माइरेई नामकरण गरी ‘फ्लोरा अफ चाइना’ पुस्तकमा प्रकाशित गरे।
संसारभरका ट्याक्सस् प्रजातिबारे अध्ययन गरेका रिचर्ड डब्लू. स्पिज्टले भने आफ्नो वैज्ञानिक लेखमा चिनियाँहरुले भूलवश ट्याक्सस् माइरेईलाई ट्याक्सस् वालिचियना भेराइटी माइरेई लेखेको ठहर गरेका छन् । सल्लासम्बन्धी महत्वपूर्ण पुस्तक एल्जोस फार्जोन लिखित ‘अ ह्याण्डबूक अफ द वर्ल्डस् कोनीफर्स’ (सन् २०१०, २०१७)मा पनि ट्याक्सस् माइरेईलाई नै सही मानिएको छ।
संसारकै सबैभन्दा ठूलो वनस्पतिको नमूना संग्रहालय हो, लण्डनस्थित रोयल बोटानिक गार्डेन्स, किउ । यसले संसारभरका वनस्पतिका नाम ‘प्लान्टस् अफ द वर्ड अनलाइन’ शीर्षक अन्तर्गत आफ्नो वेबसाइटमा प्रकाशन गर्छ।
किउकाे प्रकाशनमा पनि आसाम (भारत), उत्तर–मध्य, दक्षिण–मध्य र दक्षिणपूर्व चीन, ताइवान, भियतनाम र नेपालमा ट्याक्सस् माइरेई पाइन्छ।
नाथानियल वालिचले नेपालको लौठसल्लाको प्रजातिलाई अनुसन्धान जर्नलमा प्रकाशित गरे पनि नेपालबाट लौठसल्लाको नमूना संकलन गर्ने चाहिं फ्रान्सिस् ब्यूकानन् ह्यामिल्टन हुन्।
रोयल बोटानिकल गार्डेनका डा.मार्क वाट्सनका अनुसार, ह्यामिल्टनले यी नमूना १६ अक्टोबर १८०२ र २१ जनवरी १८०३ मा संकलन गरेका थिए । उनले लौठसल्लाको यो प्रजातिको नाम ट्याक्सस् लोस्वा (नेवारी शब्द) राखे । तर, त्यसको प्रकाशन भने हुन सकेन।
ब्यूकाननकाे उक्त नमूनालाई सन् २०१८ मा वाट्सनले अध्ययन गर्ने मौका पाए । र, त्यो ट्याक्सस् माइरेई रहेको पत्ता लगाए।
“यस हिसाबमा ट्याक्सस् माइरेई विश्वमै सबैभन्दा पहिले नेपालबाट संकलन भएको देखिन्छ । “ह्यामिल्टनले नामकरण गरेको त्यो नमूना त्यहीबेला प्रकाशित भएको भए आज ट्याक्सस् माइरेईको वैज्ञानिक नाम ट्याक्सस् लोस्वा हुने थियो”, वाटसन भन्छन्।
सन् १८१६ मा इष्ट इन्डिया कम्पनी (ब्रिटिश) को पहिलो आवासीय प्रतिनिधिका रुपमा नेपाल आएका इडवार्ड गार्डनरले पनि सन् १८१९ मा ट्याक्सस् माइरेईको नमूना संकलन गरेको वाट्सनको भनाइ छ।
संकटापन्न प्रजाति
दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा लौठसल्लाका ५ प्रजातिलाई अनुसूची २ मा राखिएको छ– ट्याक्सस् फुवना, ट्याक्सस् सुमात्राना, ट्याक्सस् चाइनेनिन्सस्, ट्याक्सस् वालिचियना र ट्याक्सस् कस्पिडेटा । तर, यहाँनेर फुवना र सुमात्रानाको नाम भने सही छैन।
किनकि ट्याक्सस् फुवना भनेको ट्याक्सस् कन्टोर्टा हो भने ट्याक्सस् सुमात्राना ट्याक्सस् वालिचियना नै हो । साइटिसमा समेत यस्तो सामान्य जानकारीसमेत अद्यावधिक नहुनु दुःखद मान्नुपर्छ ।
विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) ले ट्याक्सस् कन्टोर्टा र ट्याक्सस् वालिचियनालाई संकटापन्न (इन्डेन्जर्ड) प्रजाति मानेको छ । ट्याक्सस् माइरेईलाई भने अलि कम जोखिममा अर्थात् लोपोन्मुख (भल्नरेबल) प्रजातिको सूचीमा राखेको छ।
नेपालमा भने कन्टोर्टा र वालिचियना भन्दा माइरेईको अवस्था खराब देखिन्छ । त्यसैले यसलाई संकाटापन्न होइन, अति संकटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड) मान्नुपर्ने हुन्छ।
असर र प्रभाव
आममानिसका लागि वनस्पतिको एउटा प्रजाति हुनु, नहुनु, यसको नामथर फकर पर्नुले खासै अर्थ राख्दैन । तर, वनस्पति विज्ञान र समग्र पारिस्थितीकीय प्रणालीमा यसको महत्व कम आँक्न मिल्दैन।
ट्याक्सस् माइरेई वनको सामान्य वनस्पति मात्र नभई क्यान्सरजस्तो दीर्घरोगको उपचारमा प्रयोग हुने औषधि प्रयोजनका लागि यसको कारोबारसमेत हुने भएकाले यसबारे केही भनिनुअघि गम्भीर बन्नुपर्ने देखिन्छ।
अहिलेसम्म किसानले ट्याक्सस् माइरेई नै लगाइरहेका छन्, व्यापारीले त्यही नाममै खरीद गरिरहेका छन् । भोलि यो त ट्याक्सस् वालिचियना भेराइटी माइरेई पो भनियो भने निर्यातमा कानूनी अड्चन हुनेछ।
साथै वालिचियनामा ट्याक्सस् माइरेईमा भन्दा औषधीय गुण कम भएकाले मूल्य पनि कमै पर्छ । व्यापारीले यही निहुँमा कम मूल्य तोके त्यसको जिम्मा कसले लिने ? ट्याक्सस् माइरेईको पात तथा ससाना डाँठ (मुन्टा)को प्रति केजी मूल्य वालिचियना र कन्टोर्टाको तुलनामा बढी छ।
वनस्पति पहिचान र वर्गीकरणमा मुख्य दुई धार देखिन्छ । एउटा पुरानै वर्गीकरण अर्थात् मूलतः बाहिरी स्वरुपलाई प्राथमिकता दिने र अर्को आनुवंशिक अध्ययनको आधार लिने।
वनस्पति विभागले केही वर्ष यता आनुवंशिक आधारमा गरिएका पहिचान तथा वर्गीकरण अंगीकार गर्दै आएको छ । यस अर्थमा, ट्याक्सस् माइरेईको ठाउँमा ट्याक्सस् वालिचियना भेराइटी माइरेई भूलवश लेखिएको मान्न सकिन्छ।
त्यतिमात्र होइन, हाम्रा विश्वविद्यालयहरु पनि सही सूचना र ज्ञानबाट वञ्चित हुनेछन् । ट्याक्सस् माइरेईबारे यति धेरै ऐतिहासिक तथ्य र प्रमाण हुँदाहुँदै पनि नेपालमा यो प्रजाति पाइँदैन भनिरहनु हाम्रो अल्पज्ञान त हो नै, व्यर्थको ‘बौद्धिक विवाद’को पछिल्लो उदाहरण पनि हो।