बन्दाबन्दीले सम्झायो पुर्ख्यौली पेशा (तस्वीरहरु)
– शब्द तथा तस्वीर: माधुरी महतो/फोटो.सर्कल
वीरगञ्ज, विन्दवासिनीका बिगुन माझी (२४) र पल्टन माझी (३२) बिहान सखारै उठ्छन्, चाहिने सामान राखेर झोला बाँध्छन् अनि लाग्छन् तिलावे खोलातिर।
दुई महीना अघिसम्म, बिगुन र पल्टन सीमापारि भारतमा काम गरिरहेका थिए । परिवारलाईलाई उतैबाट खर्च पठाउँथे । तर, जब नेपाल-भारत दुवै देशले कोभिड-१९ महामारी सामना गर्न गत चैतमा बन्दाबन्दी घोषणा गरे, उनीहरु घर फर्कन विवश भए।
घर फर्केको केही समयमै उनीहरु बेखर्ची भए । परिवार जसोतसो अर्को पेशा अपनाएरै पनि धान्नुपर्छ भन्ने लाग्नथाल्यो । अनि यी दुईले माछा मार्ने निर्णय गरे।
“मेरा पुर्खा माझी हुन्, शताब्दीयौंदेखि हामी माछा मारिरहेका छौं, त्यसैले परिवार पाल्न किन पुरानो सीप प्रयोग नगर्ने भन्ने सोच पलायो”, बिगुन भन्छन्।
बिगुन र पल्टनसँगै विन्दवासिनीका थप ९ जना माछा मार्न थालेका छन्। पल्टनका भनाइमा माछा मारेर हरेक दिन १,५०० रुपैयाँजति भइरहेको छ । “घरमा भय बोकेर त्यतिकै बस्नुभन्दा माछा मार्न जाँदा धेरै आम्दानीसँगै मानसिक राहत पनि भइरहेको छ ” पल्टन बताउँछन्।
महामारीले घरमै बस्न बाध्य बनाए पनि किसानलाई मनसुनले भने साथ दिएको छ। खोलानाला माछाले भरिएका छन्।
“अहिलेका लागि माछा मारेर परिवारलाई दुई छाक खाना खुवाउन सक्छौं”, बिगुन र पल्टन एक स्वरमा भन्छन्।