बन्दाबन्दीको भयावह असर: नेपालमा एक चौथाइ श्रमिकले गुमाए रोजगारी
कोभिड–१९ को संक्रमण विस्तार रोक्न लगाइएको बन्दाबन्दीपछि करीब एक चौथाइ कामदारले रोजगारी गुमाएको नयाँ अध्ययनले देखाएको छ।
नेपाल राष्ट्र ब्यांकले गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार, देशका उद्योग व्यवसायले करीब २२.५ प्रतिशत कामदार कटौती गरेको देखिएको हो।
राष्ट्र ब्यांकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीसँग गरेको सर्वेक्षणका आधारमा निकालिएको निष्कर्षअनुसार, होटल र रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौति गरेका छन्। त्यस्तै, रोजगारी गुमाउनेमध्ये करिब दुई तिहाई अस्थायी र करारका कर्मचारी र कामदार छन्।
सबैभन्दा धेरै घरेलु उद्योगका ३०.५२ प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । रु. ५० करोडभन्दा धेरै स्थिर पुँजी भएका ठूला उद्योगका भने करिब १४ प्रतिशत कामदारले रोजगारी गुमाएको अध्ययनले देखाएको छ ।
बन्दाबन्दीको अवधिमा औसतमा १८.२ प्रतिशत उद्योग व्यवसायले कामदार तथा कर्मचारीको तलब कटौती गरेको अध्ययनले देखाएको छ। ठूला उद्योग/व्यवसायहरुले अन्यको तुलनामा धेरै तलब कटौती गरेका छन्। तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि रहेको अध्ययनको निष्कर्ष छ।
यस्तै, बन्दाबन्दीको अवधिमा ६१ प्रतिशत उद्योग र व्यवसाय पूर्ण रुपमा बन्द रहेको र अधिकांश उद्योग व्यवसायको कारोबार झण्डै तीन चौथाईले घटेको अध्ययनले पत्ता लगाएको छ।
बन्दाबन्दी अवधिमा ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका, ३५ प्रतिशत आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत पूर्णरुपमा बन्द रहेका पाइएको थियो।अत्यावश्यक सामाग्री उत्पादन गर्नेबाहेक अधिकांश उद्योग र व्यवसाय बन्दाबन्दीका समयमा बन्द थिए।
सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा बन्दाबन्दीका बेला औसतमा ७३.८ प्रतिशत उत्पादन/कारोबार घटेको जनाएका थिए।
राष्ट्र ब्यांकको अध्ययनले ब्याज छुट प्राप्त गर्न योग्य सहभागी उद्योग/व्यवसायहरुमध्ये करिब २० प्रतिशतले मात्रै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको ब्याज छुट प्राप्त गरेको उत्तर दिएका थिए।राष्ट्र ब्यांकले बन्दाबन्दीका बेला २ प्रतिशत ब्याज छूट गर्न ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो।
पुनरुत्थानका लागि समय लाग्ने
केन्द्रीय ब्यांकको अध्ययनले उद्योग तथा व्यवसायहरु पूरानै लयमा फर्कन लामो अवधि लाग्नसक्ने संकेत गरेको छ।सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले बन्दाबन्दीपश्चात् सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने बताएका छन्।त्यस्तै, होटल तथा रेष्टुरेण्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ।
८२.३ प्रतिशत उद्योग/व्यवसायहरुले बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भएतापनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत देखिएको छ।६९.९ प्रतिशत उद्योग/व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी/कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने बताएका छन्।
सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले सरोकारवाला निकायबाट ब्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋण अवधि लम्ब्याउने सुविधा पाए व्यवसाय टिक्ने जवाफ दिएका थिए ।
फेरि बन्दाबन्दीको चर्चा चलिरहेका बेला उद्योगी व्यवसायीहरुले भने बन्दाबन्दी लम्बिएमा व्यवसाय टिकाउन नसक्ने बताएका छन् । सर्वेक्षणमा सहभागीमध्ये २९.५ प्रतिशत उद्योग/व्यवसायहरुले बन्दाबन्दी थपिए अर्को एक महिना मात्र आफ्नो उद्योग/व्यवसायलाई निरन्तरता दिन सकिने बताएका छन् । यसको अर्थ, दुई तिहाई भन्दा बढी व्यवसायीले थप एक महिनाभन्दा बढी बन्दाबन्दी लम्बिए व्यवसाय टिकाउन नसकिने जवाफ दिएका छन् । बन्दाबन्दी थप दुई महिना थेग्न सक्ने जवाफ दिने व्यवसायी १३.७ प्रतिशत मात्रै छन् ।