'बाहुबली' का भल्लालदेव शनिबार विवाह बन्धनमा बाँधिंदै, पाहुनाहरुको कोरोना परीक्षण हुने
चर्चित भारतीय फिल्म ‘बाहुबली’ मा ‘भल्लालदेव’ को भूमिकामा अभिनय गरेका राणा दग्गुबाती आउँदो शनिबार विवाह बन्धनमा बाँधिंदैछन्।
उनी प्रेमिका मिहिका बजाजसँग ८ अगस्ट (२४ साउन) मा लगनगाँठो कस्दैछन्। बन्दाबन्दी (लकडाउन) कै बीचमा परिवार र निकट साथीहरुको उपस्थितिमा 'इन्गेजमेन्ट' गरेका दग्गुबाती अहिले विवाहको तयारीमा जुटेका छन्।
एक अन्तर्वार्ताको क्रममा दग्गुबातीका पिता एवम् फिल्म निर्माता सुरेश बाबूले छोराको विवाह ८ अगस्टमा हैदराबादमा हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोनाभाइरस महामारीबीच हुन लागेको वैवाहिक कार्यक्रम भारत सरकारले जारी गरेको मापदण्ड अनुसार हुने पनि उनले बताएका छन्।
राणाले सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबूक र ट्वीटरमा केही समयअघि प्रेमिका विवाहका लागि राजी भएको भन्दै दुवै जनाको तस्वीर पोस्ट गरेका थिए। जसमा उनका प्रशंसक र फिल्म क्षेत्रका व्यक्तिहरुले बधाई दिएका थिए।
कोरोना महामारीका कारण विवाहमा फिल्म उद्योगभित्र र बाहिरका निकट व्यक्तिहरुलाई निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। विवाहमा ३० जना मात्र पाहुना सामेल हुने र आउनेहरुको कोरोना परीक्षण गरिने बताइएको छ। विवाह तेलुगु र मारवाडी रीति-रिवाज अनुसार हुनेछ। - एजेन्सी