मदन पुरस्कार– २०७६ का लागि सात पुस्तकको ‘सर्टलिष्ट’ सार्वजनिक
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकको सूची (सर्ट लिष्ट) छनोट गरेको छ।
गुठीद्रारा भर्खरै जारी यो सूचीमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन् ।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिका अनुसार पुरस्कारका निम्ति गुठीलाई गत वर्ष प्रकाशित कूल १५१ पुस्तकहरू प्राप्त भएका थिए।
उनका अनुसार, प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकको सूची गुठीलाई उपलब्ध गराएको हो।
छनोटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने छ ।