वामदेवले भने– ‘म कुनै गुटमा लाग्दिनँ’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चुलिएको शक्ति संघर्षमा पछिल्लो समय उपाध्यक्ष वामदेव गौतम चर्चाको केन्द्रमा छन्।
गएको १३ असारमा डाकिएको नेकपाको स्थायी कमिटी बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगन गरेपछि त्यस दिन बालुवाटारमा दुई पार्टीको अभ्यासको झल्को दिने गतिविधि भएका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको समूहले बैठक नरोक्ने भन्दै बहुमत सदस्यहरुको बैठक गरेका थिए भने ओली पक्षधरले त्यसलाई बहिष्कार गरेका थिए।
त्यस दिन साँझ प्रधानमन्त्री ओली पत्नी राधिकासहित भैंसेपाटीस्थित गौतमको निवास पुगेका थिए।
त्यसयता नेकपाका कुनै बैठक बसेका छैनन्। अनिश्चित कालका लागि स्थगन भएको स्थायी कमिटी बैठक कहिले बस्छ भन्ने टुंगो छैन।
प्रधानमन्त्री ओलीले स्थायी कमिटी नभई केन्द्रीय सचिवालयको बैठक बोलाउनुपर्ने अडान लिए पनि त्यसबारे पनि कुनै निर्णय भएको छैन।
यही अवस्थामा नेकपा अध्यक्ष दाहाल पनि मंगलबार उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी पुगे।
नेकपामा पछिल्लो समय देखिएको शक्ति संघर्षको शुरुआत गौतम निवासबाटै भएको थियो, जसलाई 'भैंसेपाटी भेला' का रुपमा समेत चर्चा गरिन्छ। त्यहींबाटै गौतम प्रधानमन्त्री ओलीइतर समूहमा सामेल भएका थिए।
पछिल्लो समय ओलीप्रति केही नरम देखिएका गौतमलाई दाहालले मंगलबार भेटेपछि नेकपामा फेरि रोचक समीकरण बन्न थालेको चर्चा पनि चल्यो।
तर, गौतमले बुधबार विज्ञप्ति मार्फत दाहालसँग भएको भेटबारे प्रष्ट पारेका छन्। गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले सो भेटबारे विभिन्न टीका-टिप्पणी भएको भन्दै भेटमा पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी भएको बताएका छन्। “स्मरणीय छ कि साउन १३ गते उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्न दुवै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसक्नुभएको थियो”, विज्ञप्तिमा उल्लेख छ, “२० गते पार्टीका अर्का अध्यक्ष प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो।”
दाहालले अब के गर्नुहुन्छ भनेर सोध्दा गौतमले दिएको जवाफ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ, “म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ।”