व्युँतिने आशामा पाँच दिनसम्म घरैमा शव, दुर्गन्ध भएपछि छिमेकीले बोलाए प्रहरी
कैलालीको टीकापुर-१ गणेशपुर शिविरमा मृत्यु भएका एक व्यक्ति व्युँतिने आशामा पाँच दिनसम्म घरैमा राखिएको शव प्रहरीले उठाएको छ। दीपक चौधरीको घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी आएपछि मात्र घरमित्र शव रहेको खुलेको थियो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको हो।
शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए। कोहलपुरमा उपचारपछि घर फर्केका उनको मृत्यु भएको थियो। पाँच दिनअघि 'थप उपचारका लागि' पाष्टरको घर ल्याइएको २१ वर्षका छोरा ईश्वर डगौरा चौधरीले बताए। तर, उनको मृत्यु भइसकेको थियो।
पाष्टर चौधरीले ईश्वरलाई बाबु सात दिनपछि ब्युँतिने बताएपछि धर्मप्रति आश्थावान उनले पनि पत्याएका थिए। पाष्टर चौधरी पनि शवमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए।
तर, मंगलबार बिहान दुर्गन्धले खाना खान नसकी उनी छिमेकीको घरमा गए। दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए।
मंगलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको थियो। प्रहरीले ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।