आज प्रदेश २ का ६ जिल्लामा निषेधाज्ञा, सर्लाहीमा आजैबाट जारी
सर्लाहीमा आजैबाट निषेधाज्ञा जारी भएपछि प्रदेश २ का ६ जिल्ला बन्द हुने भएका छन्। यसअघि बारा, पर्सा, महोत्तरी, धनुषा र सप्तरीमा निशेधाज्ञा जारी गरिएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनामा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि एक साताका लागि निषेधाज्ञा जारी गरेको उल्लेख छ। त्यहाँ आज बुधबार बिहान ६ बजेदेखि २७ साउन राति १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा लागू गरिएको हो।
औषधि उपचार, खाद्यवस्तु र पेट्रोलियम पदार्थ खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सूचनामा सचेत गराइएको छ। अत्यावश्यक सामग्री बोक्ने र अत्यावश्यक सेवाका गाडीबाहेक अन्य सवारी नचलाउन पनि सूचित गरिएको छ।
उता महोत्तरीमा जिल्ला प्रशासनले गत १६ साउन राति ११ बजेदेखि लगाएको निषेधाज्ञा आज राति ११ बजे सकिँदैछ। धनुषामा जनकपुर उपमहानगरपालिका र क्षिरेश्वर नगरपालिकामा १९ देखि २५ साउनसम्म निषेधाज्ञा लगाइएको छ।
उता पर्सामा १९ साउनदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी छ। वीरगन्जमा १० साउनदेखि लगाइएको निषेधाज्ञालाई नौ दिनपछि जिल्लाभरि विस्तार गरिएको हो।
सप्तरीमा हिजोदेखि एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। बारामा पनि गएको १८ साउनदेखि अनिश्चितकालीन निशेधाज्ञा जारी गरिएको छ।