ओली–दाहाल अडानमा कायमै, सरकारको निर्णयप्रति कडा आपत्ति
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मंगलबारको छलफलमा पनि आ–आफ्नो अडानमा कायमै रहेका छन्। वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहित लगातार तेस्रो दिन मंगलबार पनि ओली–दाहाल छलफलमा बसेका थिए।
तर, प्रधानमन्त्री ओली सचिवालयबाटै विवाद हल गर्नुपर्ने अडानमा रहे। दाहाल र वरिष्ठ नेता खनालले भने जारी स्थायी कमिटी टुंग्याउनुपर्ने पक्षमा अडान लिएका छन्। बैठक स्रोतका अनुसार, दाहाल र खनालले यति लामो समयदेखि अलपत्र पारिएको स्थायी कमिटी बैठक टुंगोमा पुग्नुपर्ने अडानमै रहेका थिए।
नेता नेम्वाङलाई आफ्नो तर्फबाट छलफलमा सामेल गराउँदै आएका प्रम ओलीले भने अब महाधिवेशनमै जानुपर्ने भन्दै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको औचित्य नरहेको बताउँदै आएका छन्। “१३ साउनबाट अगाडि बढ्ने कि ३ साउनबाट भन्नेमै नेताहरु बीच सहमति जुट्न सकेको छैन”, एक नेताले भने।
३ साउनको सचिवालय बैठकमा प्रम ओलीले मंसीरमै महाधिवेशन गर्न समेत आफू तयार भएको र त्यहीबाट अध्यक्ष पद छोड्ने बताएका थिए। तर, दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने मंसीरमा महाधिवेशन संभव नहुने भएकाले प्रम ओलीको प्रस्तावलाई ‘टियर ग्यास’का रुपमा अथ्र्याउँदै आएका छन्।
१३ साउनको स्थायी कमिटी बैठक एकलाैटी निर्णयका आधारमा अनिश्चितकालका लागि प्रम ओलीले स्थगित गरेका थिए भने दाहाल–नेपाल समूहको बहुमत सदस्यले बैठक राखेका थिए। दुवै तर्फबाट ओली र दाहाललाई थप गृहकार्य गर्ने जिम्मेवारी दिएको छ।
तर, सहमति जुट्न भने सकेको छैन। केही दिनको संवादहीनता तोड्दै गएको आइतबारदेखि चार नेता छलफलमा बस्दै आएका छन्। बुधबार पनि छलफल गर्ने गरी नेताहरु उठेका छन्।
छलफलमा दाहाल र खनालले भने सरकारको निर्णयबारे समेत प्रश्न उठाएका थिए। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त गर्ने सरकारको निर्णयबारे दाहाल र खनालले आपत्ति जनाएका थिए।
विवादास्पद व्यक्तिलाई नियुक्त गर्दा पार्टीको छवि समेत धुमिल हुने दाहालको भनाइ थियो। तर, प्रम ओलीले भने सरकारको निर्णयको बचाउ गरेका थिए।