‘यूट्युबमै मनाउँला यसपालिको तीज’
वैदेशिक रोजगारमा गएका नेपालीले तीज आउनुभन्दा डेढ महीना अघिदेखि गर्ने सांस्कृतिक कार्यक्रममा भाग लिन नेपाली कलाकारलाई भ्याइनभ्याई हुन्छ। तर, महामारीका कारण यो वर्ष घरैमा बसेका गायक/गायिका आफ्नो प्रस्तुति यूट्युबमा दिइरहेका छन्।
लोक तथा दोहोरी गायिका राधिका हमालले विगत १० वर्षदेखि घरमा तीज मनाएकी थिइनन्। तीज आउन डेढ महीना अघि नै उनी कार्यक्रमका लागि विदेश पुगिसक्थिन्।
उनी नेपालीहरु बसोबास गर्ने यूके, अमेरिका, अष्ट्रेलिया, जापान, यूएई, इजरायल, मलेसिया, रसिया, टर्की लगायत देशमा पुगेर गीत गाएकी छिन्। तर, यो वर्ष घरैमा छिन्।
वैदेशिक यात्रा रोकिए पनि गीत गाइरहेको उनी बताउँछिन्। “डेढ महीनादेखि हिंडेर तीज सकिएको पन्ध्र दिनपछि मात्रै घर फर्किन्थें। यो वर्ष कतै जान पाइएन। गीत रेकर्ड गर्दै यूट्युबमा राखिरहेकी छु”, उनी भन्छिन्।
उनी म्यूजिक ब्यांक नेपाल नामको रेकर्डिङ स्टुडियो सञ्चालन गर्छिन्। उनी अहिले आफ्नै स्टुडियोमा रेकर्डिङमा व्यस्त छिन्। “यो वर्ष गीतहरु कम गाइए तर, यस्तो प्रतिकूल परिस्थितिमा जति रेकर्ड भए त्यति पनि धेरै हो।” तीजमा दर्शकलाई प्रत्यक्ष मनोरञ्जन दिन बानी परेकी उनी यो पटक यूट्युबमा सीमित हुनुपर्दा खल्लो भएको बताउँछिन्।
लोक तथा दोहोरी गायक पशुपति शर्माले यो वर्ष जापानमा त्यहाँका नेपालीका लागि कार्यक्रम गर्ने कार्यक्रम थियो। उनले आयोजकसँग गएको वर्ष नै सो सम्बन्धी सम्झौता गरिसकेका थिए। तर, कोरोनाभाइरसका कारण कार्यक्रम स्थगित भयो ।
उनी पन्ध्र वर्षदेखि तीज गीत गाइरहेका छन्। तीजको एक महीना अघिदेखि विदेशतिरै व्यस्त हुन्थे। यो वर्ष पनि करीब आधा दर्जन गीत गाएका छन्। ती सबै यूट्युबका लागि मात्र भएको छ।
यो वर्ष दुःख वर्षको रुपमा स्मरणीय रहने उनको भनाइ छ। ”माहोल सामान्य भएपछि फेरि गाउने हो भनेर चित्त बुझाएर बस्नुपरेको छ। बाँचे त फेरि कार्यक्रम गर्ने छँदै छ नि”, उनी भन्छन्।
गायिका शान्तिश्री परियारको यो वर्ष क्यानडामा कार्यक्रम थियो। सम्झौता पनि भइसकेको थियो। अन्य देशका आयोजकसँग पनि कुरा भइरहेको थियो। तर, ती सबै कार्यक्रम रोकिए।
उनी तीन वर्षदेखि तीज विदेशतिरै मनाउथिन्। तीज विशेष कार्यक्रममा स्टेजमा गीत गाएर दर्शकलाई मनोरञ्जन दिने उनी अहिले स्टुडियोमा गीत गाइरहेकी छिन्। यो वर्ष मात्रै उनका तीजका गीत आधा दर्जन भइसकेका छन्।
स्टेजमा गीत गाएर मनोरञ्जन दिन नसके पनि स्टुडियोमा गाएर यूट्युब मार्फत मनोरञ्जन दिइरहेको उनी बताउँछिन्। “देश तथा परदेशमा बस्नुहुने दर्शकलाई प्रत्यक्ष मनोरञ्जन दिन नसके पनि यूट्युब मार्फत तीज विशेष होस् भनेर नयाँ गीतहरु गाइरहेकी छु”, उनी भन्छिन्।
गायक तथा मोडल रामजी खाँडले यो वर्ष तीन वटा तीज गीत गाए। तीन वटै तीज गीतको म्यूजिक भिडियोमा अभिनय गरे। यो तीजको माहोलमा सुरक्षित रुपमा गीत गाएर अभिनय गरिरहेको उनी बताउँछन्।
उनको पनि यो वर्ष अष्ट्रेलिया, जापान, कोरिया लगायतका देश जाने लगभग निश्चित थियो। अन्य देशका आयोजकहरुसँग पनि कुरा भइरहेको थियो। सामान्यतया असार पहिलो हप्तादेखि नै तीज विशेष कार्यक्रमको लागि वैदेशिक यात्रा शुरु गर्ने उनी अहिले यूट्युबमा सीमित छन्।
उनी भन्छन् “अहिलेको परिस्थितिले यति अप्ठ्यारो अवस्था सिर्जना गर्यो कि पाँच जना भेला भएर बस्न सकिंदैन। हामीले जतिसक्दो बढी भीड जम्मा गर्नुपर्छ।” सामान्यतया कलाकारले भीड जम्मा गर्नुपर्छ। कोरोनाले भीड जम्मा गर्न रोकेको छ। कोरोनाभाइरस महामारीको मार सबैभन्दा बढी कला क्षेत्रलाई परेको खाँड बताउँछन्।