रामगोपाल बर्माले गरे अर्नव गोस्वामीमाथि फिल्म बनाउने घोषणा
बलिउड फिल्म निर्माता, लेखक तथा निर्देशक रामगोपाल बर्माले भारतीय एक टेलिभिजनका सम्पादक तथा प्रस्तोता अर्नव गोस्वामीमाथि फिल्म बनाउने घोषणा गरेका छन्।
भारतीय न्यूज च्यानल रिपब्लिक टीभीका सम्पादक तथा प्रस्तोता गोस्वामीमाथि बन्ने फिल्मको नाम बर्माले "गोस्वामी: दि न्यूज प्रोस्टिच्यूट" राख्ने बताएका छन्।
गोस्वामीले बलिउड फिल्म क्षेत्रलाई बदनाम गरिरहेको भन्दै लगातार आक्रोश पोख्दै आएका बर्माले ट्वीटको लामो सिरिज लेखेर सोमबार उनीमाथि सिनेमा बनाउने घोषणा गरेका हुन्।
बर्माले ट्वीटमा बलिउडको फिल्म क्षेत्रलाई गोस्वामीले बलात्कार, ग्यांगस्टर र यौन शोषण जस्ता आपराधिक गतिविधिसँग जोडेर बदनाम गरेको भन्दै डरलाग्दो तवरले चित्रित गर्ने गरेको बताएका छन्।
उनले गएको २५ वर्षमा मृत्यु भएका बलिउडका कलाकारहरू दिव्या भारती, जिहा खान, श्रीदेवी र सुशान्त सिंहको विषयलाई बलिउडसँग जोडेको भन्दै आक्रोश पोखेका छन्।
उनले ट्वीटमा नै आदित्य चोपरा, करन जोहर, महेश भट्ट, शाहरुख खान र सलमान खानलाई 'मेन्सन' गर्दै गोस्वामी विरुद्ध किन नबोलेको भनेर प्रश्न समेत गरेका छन्। उनले यी कलाकारहरूलाई अहिले नबोले यसलाई गल्ती स्वीकार गरेको रुपमा आम मानिसले बुझ्ने भन्दै गोस्वामीको हर्कत विरुद्ध आवाज उठाउन आह्वान गरेका छन्।
बर्माले गोस्वामीमाथि लगातार अध्ययन गरेपछि ‘द न्यूज पिम्प’ वा ‘द न्यूज प्रोस्टिच्यूट' ट्यागलाइन के हुनसक्छ भनेर विचार गरेको र ‘द न्यूज प्रोस्टिच्यूट' लाई नै फाइनल गरेको उल्लेख गरेका छन्।
बर्माले उक्त फिल्म गोस्वामीको लागि नभएर उनका दर्शकलाई वास्तविकता बुझाउनका लागि बनाउने बताएका छन्।