खनाल र नेम्वाङसहित ओली–दाहालबीच छलफल शुरु
बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहित नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चार नेताबीचको छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
१३ साउन देखि स्थायी कमिटी बैठक अनिश्चित बनेपछि दुई अध्यक्ष बीच दिनहुँ छलफल चल्दै आएको छ। आइतबार झण्डै चार घण्टा छलफल चलेको थियो भने सोमबार दुई घण्टा छलफल भएको थियो।
लगातार छलफल भइरहे पनि दुवै पक्षले अडान छोडेका छैनन्। दाहालको शर्तअनुसार, खनाल र नेम्वाङ साक्षीका रुपमा बस्दै आएका छन्। दाहालका तर्फबाट खनाल र ओलीका तर्फबाट नेम्वाङ साक्षी बसेका छन्।
प्रधानमन्त्री ओलीले अब महाधिवेशनमा जानुको विकल्प नभएको बताउँदै आएका छन्। तर, दाहालले भने महाधिवेशनमै जाने निर्णय पनि स्थायी कमिटीबाट गर्नुपर्ने अडानमा छन्। केन्द्रीय कमिटीका सदस्यहरुले लिखित माग गरेकाले केन्द्रीय कमिटी बैठकबारे समेत स्थायी कमिटीमै छलफल हुनुपर्ने दाहालको अडान छ।
प्रम ओलीले भने स्थायी कमिटी नभएर सचिवालयबाट सहमति जुटाउनुपर्ने पक्षमा छन्। प्रम ओलीले ३ साउनको सचिवालय बैठकलाई निरन्तरता दिनुपर्ने अडानमा छन्। त्यस दिनको सचिवालय बैठकमा प्रम ओलीले मंसीरमै महाधिवेशन गर्न पनि तयार हुनुपर्ने र त्यहीबाट अध्यक्ष छोड्ने बताउँदै आएका छन्।