विज्ञ र विपक्षी नेताहरुसँग प्रधानमन्त्रीले भने– महामारीकाे संकट नबुझ्नेहरु मेरै पार्टीमा छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको संकट नबुझ्ने गैरजिम्मेवारपन आफ्नै पार्टीमा रहेको बताएका छन्। नेकपाकै नेताहरु प्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले संकटका बेला जिम्मेवार हुनुपर्ने बताएका छन्।
कोभिड महामारी रोकथामका बारेमा विषय विज्ञ तथा विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्रीले संकटलाई गम्भीर रुपमा लिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले मुलुकको संकटप्रति लापरवाही र जनताप्रति उदासीन हुन नमिल्ने बताए।
सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएका बेला पार्टीभित्रै केन्द्रीय कमिटी बैठकको माग भएको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन, मेरै पार्टीमा देखिन्छ”, प्रधानमन्त्री ओलीले भने।
४५० जना रहेको केन्द्रीय कमिटी बैठक बस्न नसकिने प्रधानमन्त्रीको भनाइ थियो। “केन्द्रीय कमिटी कहाँ बस्ने हो? के गर्ने हो? त्यस्तो सोच केही पनि छैन। तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ”, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बस्नेबारे पनि असन्तुष्टि जनाए। “अहिले नै बस्नुप¥यो, भरे बस्नुपर्यो। त्यसबाहेक केही छैन”, उनले भने।
संकटको बेलामा केही सञ्चार माध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको प्रधानमन्त्री ओलीले बताए। विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरे।
‘‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन्, संक्रमित मान्छेहरुसँग उनीहरु डिल गर्नुपरेको छ”, प्रधानमन्त्री ओलीले भने।