राष्ट्रिय सभामा पहिलेकै सभापतिहरु दोहोर्याउन दलहरु सहमत
राष्ट्रिय सभाका चार वटा समितिको सभापति पुरानै दोहोरिने भएका छन्। यसअघि चयन भएका सभापतिहरुमा तीन जना नेकपा र एक जना कांग्रेसबाट छन्।
अब एक कार्यकालका लागि पुरानै सभापतिहरु दोहोर्याउने सहमति शीर्ष नेताहरुबीच भएको नेकपाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए। उनले भने, “पहिलेकै सभापतिज्यूहरु दोहोरिनुहुनेछ। शीर्ष नेताहरुबीच सहमति भइसकेको छ, तर प्रक्रियागत हिसाबले आइतबार सम्बन्धित समितिहरुले निर्वाचित गर्ने हो ।”
यसअघि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति सभापतिमा तारादेवी भट्ट थिइन् भने विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) थिइन्।
ती मध्ये दिगो विकास समितिका सभापति भट्ट कांग्रेसकी हुन् भने अरु तीनै जना नेकपाका हुन्। संसदका विषयगत समितिहरुको सभापति चयनमा दलहरुबीच भागवण्डा लगाउने गरिएको छ।
सम्बन्धित समाचार- राष्ट्रिय सभाका समिति सभापतिहरूको निर्वाचन शुक्रबार
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलका नेता रहेका राधेश्याम अधिकारीले पहिलेकै सहमति बमोजिम सभापतिहरु निरन्तरता दिने हिमालखबरसँग बताए।
राष्ट्रियसभा नियमावली–२०७५ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरुको पदावधि प्रत्येक दुई वर्षमा सकिएर नयाँ आएसँगै समितिका सदस्यहरु हेरफेर हुने र समिति सभापतिहरु समेत चयन गर्नुपर्ने हुन्छ।
गत फागुनमा एकतिहाइ सदस्य गएर नयाँ सदस्य निर्वाचित भए भने गत शनिबार राष्ट्रियसभा अध्यक्षले समिति सदस्यहरु पनि हेरफेर गरिसकेका छन्। सभापति चयनमा सहमति भएपनि प्रक्रियागत हिसाबले भने शुक्रबार सम्बन्धित समितिहरुले नै टुंग्याउनेछन्।
संघीय संसद सचिवालयले हिजो सार्वजनिक गरेको निर्वाचन कार्यक्रम असार २२ साउनमा (बिहीबार) मनोनयन दर्ता गर्ने र शुक्रबार सम्बन्धित समितिहरुले सभापति चयन गर्नेछन्।