आज पनि ओली–दाहाल छलफलमा बस्ने
सत्तारुढ नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच आज पनि छलफल हुँदैछ। साँझ पाँच बजे छलफलको समय तोकिएको छ।
छलफलमा दाहालका तर्फबाट बरिष्ठ नेता झलनाथ खनाल र ओलीका तर्फबाट संसदीय दलका नेता सुवास नेम्वाङ पनि सहभागी हुँदैछन्। आइतबार र सोमबार पनि यी चार नेता बीच छलफल भएको थियो। तर, सहमति भने जुट्न सकेको छैन। दुवै समूहले अडान नछोडेपछि सहमति जुट्न कठिनाइ भइरहेको छ।
प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएर सहमति जुटेपछि मात्रै स्थायी कमिटी बोलाउनुपर्ने अडान लिएका छन्। तर, कार्यकारी अध्यक्ष दाहालले भने स्थायी कमिटी जारी रहेकाले त्यही समाधान खोज्नुपर्ने बताउँदै आएका छन्।
गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी लगातार स्थगित हुँदै आएको छ। १६ असारको बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि ओलीले बैठक अस्वीकार गर्दै आएका छन्।
१३ साउनमा एक्लौटी निर्णयका आधारमा प्रम ओलीले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए भने दाहाल समूहले बहुमत सदस्यहरु सहित त्यसैदिन बैठक राखेका थिए।