थप बन्दाबन्दीबारे विज्ञहरुसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण बढ्न थालेपछि सम्बन्धित विज्ञहरुसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोभिड–१९ संक्रमण रोकथामबारे छलफल राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
बन्दाबन्दी खुलेपछि विशेषगरी ठूला शहरहरुमा संक्रमण बढेको छ। राजधानी उपत्यका, वीरगञ्ज महानगरपालिका, विराटन महानगरपालिका लगायत शहरमा संक्रमित संख्या बढेको छ। “बन्दाबन्दी खुलेपछि ठूला शहरहरुमा संक्रमण बढेको छ। कतिपयले फेरि बन्दाबन्दी गर्नुपर्छ भनिरहेका छन्। यसबारे प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम तय भएको हो”, थापाले भने।
गएको ११ चैतदेखि जारी बन्दाबन्दी खोल्नेबारे पनि विज्ञहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए। तिनै विज्ञहरुसँग फेरि आज छलफल राखिएको थापाले बताए। १२० दिन पछाडि ७ साउन देखि बन्दाबन्दी अन्त्य गरिएको छ।
तर, सोमबार मात्रै पनि नेपालमा थप ४१८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित संख्या २० हजार ७५० पुगेको छ भने ५७ जनाको मृत्यु भएको छ।