आईपीएल प्रमुख प्रायोजक चाइनिज कम्पनी नै भएपछि सामाजिक सञ्जालमा आक्रोश, कति रकम दिन्छ भिभोले?
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रमुख प्रायोजकमा चाइनीज मोबाइल कम्पनी भिभोलाई नै निरन्तरता दिएपछि सामाजिक सन्जालमा तीव्र विरोध भएको छ। विरोध गर्नेहरु भारतीय जनता पार्टीको ‘राष्ट्रवाद’ मा पनि प्रश्न उठाएका छन्।
भीभोले आईपीएललाई मुख्य प्रायोजक भएवापत ४४० करोड भारु दिनेछ। आईपीएलले यो कम्पनीसँग पाँच वर्षका लागि सम्झौता गरेको हो। उक्त सम्झौता सन् २०२२ मा मात्र सकिनेछ।
भारत र चीनबीच चिसिएको सम्बन्धका कारण भिभोलाई प्रायोजक नबनाउन सामाजिक सञ्जालमा दबाब दिइएको छ। उनीहरुले बीसीसीआई र भाजपा सरकार पैसामा बिकेको आरोपसमेत लगाएका छन्। तर, बीसीसीआईले सम्झौता अवधिसम्म भिभोलाई प्रायोजकबाट नहटाउने जनाइसकेको छ।
भारतको सरकारले केही समयअघि चाइनीज सामान बहिस्कार गर्न जनतालाई आह्वान गरेको थियो। तर, आईसीसीले भिभोलाई नै प्रायोजक बनाएपछि ‘बेइजिङ आफूहरुप्रति हाँस्ने’ एक व्यक्तिले ट्विट गरेका छन्।
केहीले यसलाई चाइनिज आईपीएल भएको पनि बताएका छन्। उनीहरुले ‘क्रिकेट आफूहरुको धर्म भए पनि आईपीएल नभएको’ जनाएका छन्।
केहीले भने खेलाडीलाई नै आईपीएल बहिस्कार गर्न आह्वान गरेका छन्। उनीहरुले दर्शकले पनि आईपीएल बहिस्कार गर्नुपर्ने बताएका छन्। एक प्रयोगकर्ताले ‘अमित शाहले विज्ञापनको वेला टीभी बन्द गर्न सल्लाह दिएको’ भन्दै व्यङ्ग्य गरेका छन्।
भारतीय जनता पार्टीको राष्ट्रवाद नक्कली भएको प्रतिक्रिया पनि ट्विटमा उल्लेख छ। उनीहरुले पैसा पाएपछि जनताको अपमान हुने गरी निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।