सन्दीप लामिछाने क्वारेन्टिनमा
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछाने १४ दिने क्वारेन्टिनमा बसेका छन्। सीपीएल खेल्न त्यहाँ पुगेका सन्दीप लगायत विदेशी क्रिकेटरहरुलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको छ।
सीपीएल आगामी २ भदौदेखि शुरु हुँदैछ। “प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार सन्दीप क्वारेन्टिनमा बस्नु परेको हो” उनका व्यवस्थापक रमन शिवाकोटीले भने। यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षण समेत गराउनु पर्ने बताए।
सन्दीप कोरियन एयरको चार्टर्ड जहाज मार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो पुगेका हुन्। सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका छन्।
सन्दीपलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो। सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स र सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सन्दीपले सीपीएल खलेका थिए।
सीपीएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। सीपीएलमा ३३ खेल हुने छन् भने कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने आयोजकले जनाएको छ। सीपीएल २५ भदौसम्म चल्ने छ।
सन्दीप टोबागोबाट सोझै इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्न असोज दोस्रो साता युनाईटेड अरब इमिरेटस् पुग्नेछन्। यसपटक १३औँ संस्करणको आईपीएल आगामी सेप्टेम्बरदेखि युएईमा शुरु हुँदैछ। कोरोना भाइरसका कारण यसपटक आईपीएल भारतमा आयोजना गर्न नकिएको हो। आईपीएल युएईमा आयोजना गर्न भारत सरकारले आयोजकलाई आइतबार अनुमति दिएपछि प्रतियोगिता हुने पक्का भएको हो।