विवादका बीच सुशील भट्ट लगानी बोर्डको सीईओ नियुक्त
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुशील भट्टलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को वैठकले भट्टलाई बोर्डको आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
ठूला आयोजनामा वैदेशिक लगानी प्रवद्र्धन तथा सहजीकरण गर्न स्थापित बोर्डमा यसअघि नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए। अधिकारी कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो।
लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो। भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुन् भने कोइराला वैदेशिक लगानीसम्बन्धि जानकार र खतिवडा विद्युत नियमन आयोगका पूर्व सदस्य हुन्।
बोर्डमा भट्टलाई ल्याइने अनुमान यसअघि नै गरिएको थियो। सीईओ पदका लागि आवेदन दिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले अन्तिम अवस्थामा प्रतिस्पर्धा छोडेका थिए। प्रतिस्पर्धाअन्तर्गत १६ साउनमा भएको प्रस्तुतिकरणमा ज्ञवाली सहभागी भएका थिएनन्।
नेकपा महासचिव विष्णु पौडेल निकट ज्ञवालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धाबाट हात झिक्न सुझाव दिएको बताइन्छ। ज्ञवाली बाहिरिएसँग प्रधानमन्त्री ओलीसँग बाक्लो हिमचिम भएका भट्ट बोर्डको सीईओमा नियुक्त हुने अनुमान गरिएको थियो।
इन्जिनियरिङको शैक्षिक पृष्ठभूमि भएका भट्ट नेपाल व्यवस्थापन संघको पूर्व अध्यक्ष हुन्। उनी दुई वर्षअघि राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त भएका थिए। व्यावसायिक पृष्ठभूमिका कारण उनी विवादमा तानिएका थिए । नेपालमा विभिन्न परियोजनामा संलग्न चिनियाँ कम्पनी कचौपाको स्थानीय एजेन्ट भएको भनी उनलाई आरोप लागेको छ ।