नेपालको चितुवामा देखियो कुकुरबाट सर्ने रोग, बाघ पनि जोखिममा
नेपालका चितुवा र बाघ ‘क्यानाइन डिस्टेम्पर’ रोगको जोखिममा रहेको पाइएको छ। कुकुरबाट वन्यजन्तुमा सर्ने यो भाइरल रोग मांसाहारी जनावरमा देखिन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्रोतका अनुसार, चितुवाको नमूना परीक्षण गर्दा यो रोग देखिएको हो। नेपालको वन्यजन्तुमा ‘क्यानाइन डिस्टेम्पर’ देखिएको यो पहिलो घटना हो। “चितुवाको नमूना परीक्षण गर्दा क्यानाइन डिस्टेम्पर देखिएको छ। पुष्टि भएको एक हप्ता भयो”, विभागका एक अधिकारीले भने। यस सम्बन्धी रिपोर्ट हालसम्म सार्वजनिक गरिएको छैन।
पाल्पा जिल्लामा दुई वर्षअघि उद्धार गरिएको चितुवाको नमूना परीक्षणका लागि चितवन पठाइएकोमा ‘क्यानाइन डिस्टेम्पर’ देखिएको हो।
चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक डा. अमिर सडौलाका अनुसार, यो रोग लागेका वन्यजन्तुलाई श्वासप्रश्वास र स्नायु प्रणालीमा समस्या देखिन्छ र पिठ्यूँ सुक्ने गर्छ। रोग लागेपछि चितुवा र बाघले शिकार गर्न सक्दैनन् र मृत्यु हुन्छ।
भारतमा बाघ, चितुवा र सिंहमा क्यानाइन डिस्टेम्पर रोग यसअघि नै पहिचान भइसकेको छ। नेपाल र भारतका बाघ एक देशबाट अर्कोमा आवतजावत गर्ने हुँदा हाम्रो राष्ट्रिय निकुञ्जमा यो रोगको बढी जोखिम हुने डा. सडौला बताउँछन्। गएको वर्ष भारतको राजस्थानमा सिंहको मृत्यु भएको थियो। यसबारे अनुसन्धान गर्दा क्यानाइन डिस्टेम्पर रोगका कारणले मृत्यु भएको पुष्टि भएको थियो।
मांसाहारी प्रजातिका बाघ, चितुवा र सिंहमा क्यानाइन पार्भो भाइरस र क्यानाइन डिस्टेम्परको जोखिम रहन्छ। चितवन राष्ट्रिय निकुञ्जका बाघहरुको नमूना परीक्षण गरिंदा क्यानाइन पार्भो देखिएको थियो। सन् २००८ देखि २०१६ सम्म निकुञ्जका ११ वटा बाघको नमूना संकलन गरेर अमेरिकाको कोर्नेल विश्वविद्यालयस्थित प्रयोगशालामा जाँच गरिएको थियो। त्यसमध्ये आठ वटा बाघमा क्यानाइन पार्भो पाइएको थियो।
क्यानाइन पार्भो कम उमेरका जनावरमा देखिन्छ। यसले वन्यजन्तुलाई पखाला लाग्ने, बान्ता हुने र मुटुमा समस्या हुन्छ। यो रोग मुख्य गरी कुकुरबाट वन्यजन्तुमा सर्छ।
चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई क्यानाइन पार्भोबाट बचाउने उद्देश्यले त्यसको स्रोत पत्ता लगाउन मध्यवर्ती क्षेत्रका कुकुरहरूको रगत संकलन गरेर नमूना परीक्षण गर्न थालिएको छ। गएको वर्ष मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने कसरा र माडी क्षेत्रका १६३ वटा कुकुरको रगत परीक्षण गरिंदा ५० वटामा क्यानाइन पार्भोको भाइरस पाइएको थियो। यस्तै, करीब २० प्रतिशतमा क्यानाइन पार्भो र डिस्टेम्पर दुवै भेटिएको थियो।
मध्यवर्ती क्षेत्रका बस्तीमा घरपालुवा जनावरहरूसँग वन्यजन्तुको सम्पर्क हुने भएकाले रोग सर्ने जोखिम हुने डा. अमिर सडौला बताउँछन्। “पशुपंक्षीहरुले सधैं रोगका भाइरस बोकेर बसिरहेका हुन्छन्”, उनी भन्छन्, “जब वातावरणीय प्रभाव प्रतिकूल हुन्छ, रोगले वन्यजन्तुलाई आक्रमण गर्छ।”
मांसाहारी प्रजाति बाहेक चितवनसहितका तीन वटा निकुञ्जका हात्तीमा हर्पिस नामको रोगको संक्रमण देखिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, सन् २००२ देखि अहिलेसम्म १३ वटा हात्तीका बच्चामा हर्पिस रोग देखिएको छ। त्यसमध्ये आठ वटा छावाको उक्त रोगकै कारण मृत्यु भयो। चितवनका आठ, बर्दियाका चार र शुक्लाफाँटाको एक छावामा हर्पिस देखिएको थियो।
यो पनि पढ्नुहोस्— बाघ बढे, चितुवा निस्के
डा. सडौलाका अनुसार, हात्तीलाई हर्पिस रोग लागेपछि बाँच्ने सम्भावना १० प्रतिशत मात्र हुन्छ। रगतमा भाइरस प्रवेश गरेको केही समयसम्म लक्षण देखिन्न, लक्षण देखिएको ८/९ घण्टामै हात्तीको मृत्यु हुन्छ।
सन् १९९५ मा अमेरिकाको टेक्ससस्थित चिडियाखानामा यो रोगको पहिलो पटक पहिचान भएको थियो। नेपालमा भने सन् २००२ मा हर्पिसको पहिलो पहिचान गरिएको थियो।
डा. सडौलाका अनुसार, चितवनमा सन् २०१५ देखि हर्पिस रोगको उपचार गर्न शुरु गरिएको हो। त्यसयता चितवनमा तीन, बर्दिया र शुक्लाफाँटामा एक/एक वटा हात्ती बचाउन सफल भएको उनले बताए।
वन्यजन्तु लक्षित पहिलो ल्याब
वन्यजन्तुलाई लक्षित गरी चितवनको सौराहामा मोलिक्युलर ल्याब स्थापना गरिएको छ। वन्यजन्तुमा लाग्ने रोग र वंशाणुगत गुण पहिचानका लागि यो प्रयोगशाला स्थापना गरिएको हो। विश्व ब्याङ्क, विश्व वन्तुजन्तु कोष (डब्लूडब्लूएफ) लगायत संस्थाको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
वन्यजन्तु लक्षित पहिलो प्रयोगशाला स्थापना भएसँगै वन्यजन्तुमा लाग्ने रोग र वंशाण गुण पहिचानका लागि विदेशमा नमूना पठाउनुपर्ने बाध्यताको अन्त्य भएको एनटीएनसी चितवनका प्रमुख रामकुमार अर्यालले बताए।
प्रयोगशालामा बाघसहितका अन्य वन्यजन्तुमा लाग्ने रोगहरुको अनुसन्धान शुरु गरिएको छ।